जनकपुरधाम : आइतबार बम विस्फोट भएको सिरहाको लहानस्थित मालपोत कार्यालय बन्द छ । आइतबार दिउँसो भएको विस्फोटपछि कार्यालय बन्द भएको हो ।

विस्फोटका कारण कार्यालयका तीन वटा काउन्टरमा क्षति पुगेको छ । त्यस्तै कार्यालयका महत्वपूर्ण कागजात जलेका छन् । विस्फोटमा परी घाइतेभएकाहरुको रगत कार्यालयमा अझै सफा भइसकेको छैन ।

कार्यालय कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने विषयमा तत्कालै केही भन्न नसकिने कार्यालय प्रमुख दीपेन्द्र चौधरीले बताए । कार्यालयको पहिलो तल्लामा रहेको मोठ शाखामा बम विस्फोट हुँदा एक कर्मचारीसहित ८ जना घाइते भएका थिए ।

घाइते हुनेमा मालपोत कार्यालयका नायब सुब्बा शिवकुमार यादव, सेवाग्राही धनगढीमाई नगरपालिका- ४ का दिनेशकुमार भण्डारी, गोलबजार नगरपालिका- ४ का फुलकुमारी ठाकुर, गोलबजार- ६ का लक्ष्मी राना मगर र बेचनी मगर, लहान नगरपालिका- १६ तरेगनाका लालबहादुर विक, भगवानपुर- ३ का बद्रीनारायण यादव र धनगढीमाई- १३ का भोलाबहादुर पाँचेमगर छन् ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते भएकामध्ये दिनेशकुमारको काठमाडौंमा र नायब सुब्बा शिवकुमारको विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले जानकारी दिए । अन्यको भने स्थानीय अस्पतालमा उपचार गरिएको छ ।

बम विस्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको भूमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ ।

घटनास्थल इलाका प्रहरी कार्यालय लहानबाट करिब १ सय मिटर उत्तरमा छ । प्रहरी कार्यालय नजिकै रहेको मालपोत कार्यालयमा दिउँसै विस्फोट हुँदा सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको स्थानीय रमेश साहले बताए ।

विस्फोटका कारण स्थानीय अझै त्रसित छन् । प्रहरीले विस्फोट सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ ।