अर्थ राज धनुषा चैत्र २२ (मधेश टप):  क्षिरेश्वरनाथ नगरपालिका रम्दैया भवाडीस्थित जानकी मेडिकल कलेजको ज्याजतीविरुद्ध आमरण अनशनको आज ७६ दिन पुगेको छ।

तीन महिना पुग्न लाग्दासमेत अन्दोलित कर्मचारी र अस्पताल प्रशासनबीच मुद्दामा कुनै सुनुवाइ भने भएको छैन। 

दुई महिनाको तलब, ७ वर्षको सञ्चय कोष र ७ वर्षको दसैँ भत्ताको रकम बाँकी रहेको भन्दै कर्मचारी आन्दोलित भएका हुन्। कर्मचारीको आन्दोलनका कारण कलेजको इमर्जेन्सीबाहेक अन्य सबै सेवा ७६ औं दिनसम्म ठप्प छ। अस्पताल ठप्प  हुँदा स्थानीय बासिन्दा उपचारका लागि जनकपुर धाउन बाध्य भएका छन्।

‘घर आगाडि अस्पताल हुँदा आफूहरू दुःख बिरामी बखत पुग्ने गरेका थियाैं, तर अब दैनिकजस्तो अस्पताल बन्द हुँदा अस्पताल गाउँमा भएको कुनै खुसी नै छैन,’ कृष्ण यादवले थाहाखबरसँग भने। 

जानकी मेडिकल कलेज मा कर्मचारी को धर्ना

प्रशासनले आफूहरु अनशन बस्दा दर्जन भन्दा बढी कर्मचारीलाई जागिरबाट हटाएको र धाक धम्की पनि दिने गरेको कर्मचारी हकहित संरक्षण समितिका अध्यक्ष उमेश यादवले आरोप लगाएका छन्।

आन्दोलित कर्मचारीले शिक्षण अस्पतालका ओपिडी, प्रशासन, लेखासहितका सबै शाखा बन्द गराएका छन्। विगतमा सरकारी पक्ष र मेडिकल कलेजबीच आफूहरुको मागबारे  दर्जन भन्दा बढी सम्झौता भए पनि  त्यो कुनै पालना नभएको यादवले बताए। 

अस्पतालमा ठूलो देखिए पनि अस्पतालभित्र कुनै किसिमको सुविधा नभएको र बन्दै गरेको भवनमा पनि कमसल सामग्री प्रयोग भएको भन्दै कर्मचारीहरुले आक्रोश पोखेका छन्। 

यता अस्पताल प्रशासनका डा डिएन झाले गाउँलेको अस्पताल भए पनि उनीहरूले मतलब नै नराखेको बताए। कर्मचारीले आफूप्रति निराधार आरोप लगाएका पनि उनले बताए।

आफू मिडियालाई कुनै कुरा खोल्ने पक्षमा नरहेको र आफू मिडियादेखि टाढा रहन खोजेको उनले बताए।