जनकपुरधाम : पूर्वराजा ज्ञानेन्द्र शाहको आइतबार काठमाडौं विमानस्थलमा भव्य स्वागतसहित जय जयकार र नागरिक अभिन्दनको तयारी गरिएको छ ।

५ गते दिउँसो शाह नयाँ दिल्लीबाट काठमाडौं विमानस्थलमा उत्रँदा भव्य स्वागत गर्न डा। मनोजकुमार झाको जनतान्त्रिक तराई मुक्तिमोर्चा,राष्ट्र बचाऊ अभियान र राष्ट्रिय नागरिक आन्दोलन २०७७ ले सर्वसाधारण तथा राजावादीहरूलाई आह्वान गरेका छन् ।

images
आह्वानमा भनिएको छ ‘आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित भई नागरिक सर्वोच्चता प्रदर्शन गरौं, राजा–जनता साक्षात्कार कार्यक्रम एवम् नागरिक अभिनन्दन कार्यक्रममा सहभागी होऔं !’

आयोजकले नागरिक स्तरबाट गरिन लागेको अभिनन्दन एवम् राजा–जनता साक्षात्कार कार्यक्रममा उपस्थिति जनाउन बैशाख ५ गते आइतबार दिउँसो साढे २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाऔं भन्दै नेपालमा राजसंस्था पुनःस्थापना एवम् नेपाललाई पुनः हिन्दु अधिराज्य भएको हेर्न चाहने सम्पूर्ण व्यक्तिलाई उपस्थितिको निम्ति आह्वान गरेको बताएको छ ।

पूर्व राजा ज्ञानेन्द्रलाई हरिद्वारमा आयोजित महाकुम्भ मेलामा भारतीय साधुसन्तको तर्फबाट सोमबार हिन्दू सम्राटको उपाधिसहित अभिनन्दन र अभिषेक गरिएको थियो । रथ यात्रा,हेलिकोप्टरबाट पुष्पवृष्टिसहित स्वागत गरिएका शाहले कार्यक्रममा धार्मिक सम्बोधन गर्नुभएको थियो ।

अभियान र आन्दोलनले ज्ञानेन्द्रले भारतमा दिएको अन्तर्वार्ता हेर्न, सुन्न र आइतबार दिउँसो विमानस्थलमा उपस्थित हुन राजावादीहरूलाई अपिल गरेको छ ।