जनकपुरधाम । जसपाका सांसद डा. सुरेन्द्र यादवले सञ्चालन गरेको जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटलमा डाक्टरको लापरबाहीले दुर्घटनामा घाइते युवकको मृत्यु भएको भन्दै आपन्तले अस्पताल तोडफोड गरेका छन् ।मोटरसाइकल दुर्घटनामा घाइते भइ अस्पतालमा भर्ना भएका मिथिला नगरपालिका ८ कुशुम विसौनाका २८ वर्षीय सुनिल शर्माको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले तोडफोड गरेका हुन् ।

चिकित्सकले घाइतेको अवस्था गम्भीर भएकाले उपचारका तत्कालै हेलिकप्टर बोलाएर काठमाडौं लैजान आफ्न्तलाई सुझाएका थिए । चिकित्सकको सुझावपछि घाइतेका काका जयप्रकाश ठाकुरले एक लाख ८० हजार रुपैयाँ भाडा दिनेगरी हेलिकप्टर अर्डर गरे । हेलिकप्टर जनकपुर पुग्न लागेपछि घाइतेको मृत्यु भएको भनियो ।

केही समयपछि चिकित्सकले विरामी ज्यूदै भएको भन्दै फेरि हेलिकप्टर बोलाउन आग्रह गरे । दोस्रोपटक बोलाएको हेलिकप्टर जनकपुर पुग्न ढिला भएपछि घाइतेको मृत्यु भएको चिकित्सकले बताएका छन् ।

‘ज्यूँदै व्यक्तिलाई मरेको भनेर डाक्टरले नभनेको भए सायद समयमै हेलिकप्टर आउँथ्यो र काठमाडौं लगेपछि मेरो भतिजा बाँच्न सक्थे’, डाक्टरमाथि आक्रोश पोख्दै जयप्रकाश ठाकुरले भने, ‘डाक्टरमाथि कारबाही हुनुपर्छ ।’डाक्टरलाई कारबाही भएपछि मात्रै भजितको शव बुझ्ने उनले बताए ।