महोत्तरी, वैशाख २० गते (मधेश टप): 

गौशाला नगरपालिका ८ स्थित सोनी खोलाको बगरमा नगरपालिकाको सहयोगमा भइरहेको खेतीबाट गाँजाको बोट बरामद भएको छ ।

स्थानीय गरिब तथा विपन्न समुदायलाई आर्थिक रुपमा सवल पार्नका लागि नगरपालिकाको कार्यालयले संचालन गरेको बगर खेतीबाट प्रहरीले आइतबार हरियो गाँजाको बोट बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालय गौशालाबाट गएको प्रहरीको गस्ती टोलीले सो वगरमा खेती गर्दै आएको स्थानिय केदार राउतको खेतबाट ३२ वटा हरियो गाँजाको बोट कटान गरि ल्याएको हो । स्थानिय सुकुम्बासीलाई आर्थिक रुपमा सवल पार्नका लागि नगरपालिकाले लाखौ रकम खर्चिएर खोलाको उकास जग्गा अर्थात बगरक्षेत्रमा तरकारीको साथै खुलेआम गाँजाको बोट लगाउन अनुमति दिइएको हो ।

वगर खेती अनुगमनका लागि नगरपालिकाका जनप्रतिनिधी एवम उच्च तहका पदाधिकारीहरुले वारम्बार अनुगमन एवम निरीक्षक गरेतापनि कसैको ध्यान नजानु एक आफैमा प्रश्न उव्जिएको छ ।

आफुले लगाएको तरकारी खेती अनुगमन गर्ने क्रममा सो गाँजाको बोट हटाउनका लागि कसैले पनि सुझाव नदिएको किसान केदार राउतले बताए । सुरुमा नै यस्तो अवैध खेती नगर्न र सो बोट हटाउनका चासो नदेखाउँदा आज खेतीपाती गरेर जीविकापार्जोन गर्ने आफुजस्ता साधारण किसान बदनाम मात्र भएको किसान राउतले प्रतिक्रिया दिनुभयो ।

गौशाला नगरपालिका र युएनडिपीको साँझेदारीमा बगरलाई बगैंचा बनाउने अभियानमा ५० लाख बराबरको रकम छुटयाएको नगरप्रवक्ता भोजवहादुर दर्लामीले जानकारी दिए । सो बगरमा आफुले खेतीपाती गर्ने क्रममा हरेक किसानहरुलाई एकीकृत रुपमा निर्देशन दिइएको उनको भनाइ छ ।
प्रहरीले उखेलेको गाँजाको बोट ढुवानी गर्ने कार्यमा किसान केदार राउत संलग्न भएतापनि प्रहरीले समान्य सोधपुछ गरि छाडेका छन् ।

यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप वस्याँलले किसानले खेतमा आफै नै गाँजाको बोट उम्रेको जवाफ दिएपछि पक्राउ नगरेको प्रतिक्रिया दिए ।
नियन्त्रणमा लिएको हरियो गाँजाको बोट नष्ट गर्ने तयारीमा जुटेको प्रहरी निरीक्षक वस्याँलको भनाइ छ ।