मधेश टप डेस्क:  जनकपुरधाम, वैशाख २८

जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा महोत्तरीका एक कोरोनाका शंकास्पद बिरामीको मृत्यु भएपछि आक्रोशित परिवारजनले अस्पतालको आईसीयु कक्षमा तोडफोड गरेका छन् ।

बिरामीको मृत्युपछि आक्रोशित भएका मृतक परिवारजनले अस्पतालमा आईसीयु कक्षमा तोडफोड गर्दा दुई वटा भेन्टिलेटरमा समेत क्षति पुर्याएको प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरीटेन्डेन्ट डा. प्रमोद यादवले बताएका छन् ।

उनका अनुसार आक्रोशित परिवारजनले अस्पतालको आईसीयु कक्षमा रहेको भेन्टिलेटर तोडफोड गर्नुका साथै अस्पतालमा खटिएका कर्मचारी उपर हाथपात समेत गरेका छन् ।

‘बिरामीको मृत्युपछि उनीसँगै एम्बुलेन्समा आएका उनका आफन्तजनले अस्पतालको आईसीयु कक्षमा रहेको भेन्टिलेटर तोडफोड गरेका हुन् ।’

मेसु डाक्टर यादवले भने ‘अस्पतालमा खटिएका ८÷१० कर्मचारीउपर समेत हाथपात गरे ।’

मेसु डा. यादवका अनुसार प्रादेशिक अस्पताल पुग्दा ती संक्रमितको अवस्था सिकिस्त रहेको थियो ।

‘जब ती संक्रमितलाई प्रादेशिक अस्पताल ल्याईएको थियो उनी लास्ट स्टेजमा थिए ।’

मेसु डा. यादवले भने ‘तापनि हामी तुरुन्तै उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गर्नै लाग्दा उनको तत्कालै मृत्यु भयो ।’

कोरोना संक्रमित भई जिल्ला अस्पतालमा महोत्तरीमा उपचार गराई रहेका ती संक्रमितको अवस्था थप नाजुक बनेपछि उनलाई महोत्तरी जिल्ला अस्पतालले प्रादेशिक अस्पताल जनकपुरधाम रेफर गरेको थियो ।

आज करिब ५.३० बजे प्रादेशिक अस्पताल ल्याईएका उनको आईसीयु कक्षको भेन्टिलेटरमा राखी उपचार गर्ने क्रममै मृत्यु भएको मेसु डा.यादवले बताए ।

यता प्रादेशिक अस्पतालका चिकित्सकहरुले समयमै बिरामीलाई भर्ना नलिएकै कारण उनको मृत्यु भएको आरोप लगाएका छन् ।

‘अस्पतालमा बेडको अभाव छ भन्दै सुरुमा भर्ना नै लिन खोजेनन् ।

’ मृतकका एकजना आफन्तले भने ‘पछि धेरै हारगुहार लगाएपछि अस्पतालको दोस्रो तल्लामा रहेको आईसीयु कक्षमा भर्ना गरे त्यतिबेला सम्म उहाँको अवस्था एकदमै गम्भीर भईसकेको थियो, नभन्दै केही बेरमै मृत्यु भयो ।’

यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रका अनुसार प्रादेशिक अस्पताल जनकपुरको आईसीयु कक्षमा तोडफोड गरेका मृतकका दुई छोराहरुलाई तत्कालै पक्राउ गरिएको छ ।

‘आक्रोशित उनका परिवारजनले अस्पतालका केही कर्मचारीहरु माथि हाथपात गरेका रहेछन्,आईसीयु कक्षमा तोडफोड गर्दा दुई वटा भेन्टिलेटरमा समेत क्षति पुगेको छ ।’

डिएसपी मिश्रले भने ‘जसले गर्दा दुई वटै भेन्टिलेटरको स्क्रिन चर्किएको छ ।’