मधेश टप डेस्क जनकपुरधाम, वैशाख ३० : 

कोरोना संक्रमणले फैलिएर देशको अवस्था अस्तव्यस्त बनेको छ । सरकारले स्थनीय सरकारहरुलाई समेत कोरोना महामारी तथा रोकथाम नियन्त्रणमा अग्रसर निर्देशन दिएको छ ।

पालिकाहरु आफ्नो हिँसाबले क्वारेन्टाइन, आइसोलेशन, एम्बुलेन्स, अक्सिजन सिलिण्डर, शव बाहन, उपचार लगायत कोरोना रोकथाम नियन्त्रणको लागि व्यवस्थापनमा जुटेका छन् । तर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत ८ लाख घुस फालेर भागेको धनुषाको बटेश्वर गाउँपालिकामा भने तयारी शून्य छ ।

गएको वैशाख १९ गतेको जिल्ला संकट व्यवस्थापन समिति धनुषको बैठकले प्रत्येक स्थानीय तहलाई क्वारेन्टाइन, आइसोलेशन बनाउन, एम्बुलेन्स, शव बाहन तयारी अवस्थामा राख्न र कम्तिमा २० वटा अक्सिजन तत्कालै खरिद गर्ने निर्णय गरेको थियो ।

बटेशवर गाउँपालिकाले हालसम्म संक्रमितको उपचारको लागि आइशोलेशन, उद्धारका लागि एम्बुलेन्स, अक्सिजन सिलिण्डर लगायतको केहि व्यवस्थपन गर्न सकेको छैन । पछिल्लो समय बटेश्वर गाउँपालिकामा झण्डै एकदर्जन व्यक्ति संक्रमित रहेका छन् ।

हाटबजार समाजिक दुरीको पाल्ना नगरी जथाभावी लागिरहेको छ । यसले कोरोना संक्रमण फैलिन जोखिम बढ्दै गइरहेको छ । तर स्थनीय सरकारसहित जनप्रतिनिधिहरु मुकदर्शक मात्र बनेका छन् । जनप्रतिनिधिहरु गाउँपालिकाको महत्वकांक्षी योजना र संकटको बेला जनताको ज्यानको सुरक्षा भन्दा चानावी तयारी स्वरुप आ आफ्ना पार्टीका नेताकार्यकर्ता, आसेपासेलाई दैलो दैलोमा इनारको शिलान्यस गर्दै हिडिरहेका छन् । संकटको बेला अन्य कुरामा ध्यान नदिएर मात्र इनारको शिलान्यास गर्दै हिड्नु चुनावी तयारी रहेको बटेश्वरका वुद्धिजिवी गणेश साह बताउँछन् ।

गाउँपालिकाका जनस्वास्थ्य निरीक्षकसमेत रहेका निमित प्रमुख प्रशासकीय अधिकृत रुद्रनारायण यादवले गाउँपालिकाको वडा नं. ५ को एक विद्यालयमा ५० बेडको क्वारेन्टाइन तयार भएको बताए । तर क्वारेन्टाइन हालसम्म संचालनमा नआएको र संचालनको तयारीमै रहेको गाउँपालिकाकै एक कर्मचारीले बताए । संक्रमितको उपचारको लागि आइसोलेशन, एम्बुलेन्सको कुनै अतोपतो छैन । त्यसैको फलस्वरुप गएको वैशाख २० गते बटेश्वर गाउँपालिका ४ का ४५ वर्षीय लोकबहादुर परियारले उपचार अभावमै अकालमै ज्यान गुमाए ।

उनी कोरोना संदिग्ध विरामी थिए । अक्सिनको व्यवस्थपन र उपचार पाएको भए उनको ज्यान बाँच्ने थियो । गरिबी विपन्नताकै कारण आर्थिक अभावले उपचार हुन नसकेर उनले ज्यान गुमाएपनि गाउँपालिकाका जनप्रतिनिधि निरीह मुख दर्शक बने । नेपाली सनेले उनको वेवारिसे शवलाई विघि खोलामा व्यवस्थापन गरेको थियो ।

बटेश्वर गाउँपालिकाबासी गाउँपालिका अभिभावक बिहीन जस्तो महसुस गरिरहेका छन् । लोक बहादुर परियार एउटा ज्वलन्त उदाहरण पात्र मात्र हुन् । अहिलेको अवस्थामा अस्पतालहरुमा बेड र अक्सिजन पाउन हम्मेहम्मे छ । देशमै धेरै ठाउँमा समयमा एम्बुेन्स, अक्सिन, बेड र उपचार नपाएर दिनहुन नागरिकको मृत्यु भइरहेको छ । लोकबहादुर जस्तै नियति भोग्नु पर्ने हो की भनेर गाउँबासी चिन्तित छन् ।

गएको फागुन १७ गते अख्तियारले पछ्याएपछि ८ लाख रुपैयाँ घुस फालेर फरार भएदेखि उनले चढ्ने गाउँपालिकाको प्रदेश २–०२–००१ झ ०००२ नम्बरको गाडी गाउँपालिकाकै प्रांगणमा थन्काइएको छ । जनताकै पैसाले खरिद गरेको उक्त गाडी कोरोना महामारी जस्तो संकटको घडीमा एम्बुलेन्सको रुपमा प्रयोग गर्न युवाहरुले आबाज समेत उठाए । तर त्यसलाई कुनै जनप्रतिनिधिले चाँसो लिएका छैनन् ।

निमित प्रशासकीय अधिकृत यादवले चालक नभएकाले सो गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न समस्या भएको प्रतिक्रिया दिए । सो गाडीका चालक वीरवहादुर मगरलाई अख्तियारले पक्राउ गरेको थियो । उनले अध्यक्ष राउतलाई घुस फालेर भाग्न सघाएको भन्दै गाडीसहित नियन्त्रणमा लिएको थियो । उनी अहिले सो घटनामा मुछिएकाले गाउँपालिकाको गाडी चलाउन पाउने छैनन् ।

अध्यक्ष फरार भएपछि गाउँपालिकामा स्थानीय नागरिक समाजले तालाबन्दी गरेको थियो । ताला खोल्न भएको सहमतिमा अदालतको आदेश नआएसम्म कुनैपनि पदमा कर्मचारी भर्ना गर्न नपाउने बँुदा रहेकाले चालक भर्ना गरेर सो गाडी चलाउन समस्या रहेको निमित प्रशासकीय अधिकृत यादवको भनाइ छ ।

‘चाँडै गाउँपालिका विपद व्यवस्थापन समितिको बैठक बसेर नयाँ एम्बुलेन्स खरिद गर्ने वा कुनै गाडी भाडामा लिएर एम्बुलेन्सको रुपमा संचालन गर्ने लिन्छौं ।’ उनले भने ।
आइसोलेशन निर्माणको लागि कुनै वडाध्यक्षहरुले चाँसो नलिएको कारण निर्माण हुन नसकेको उनको भनाइ छ । कोरोना रोकथाम नियन्त्रणको आवश्यक व्यवस्थापन तथा विकासे कामको विषयमा जनप्रतिनिधिहरु एकअर्कामाथि आरोप प्रत्यारोप लगाएर आफु चोखिन खोजिरहेका छन् ।