सुन्दै छु तिमीले कुर्शी बचायौ रे,
बिडम्बना मैले आफन्त बचाऊँन सकिन् ।
तिम्रामा बधाई दिनेको घुंईचो छ रे,
म त मलामी सम्म जान पाईन ।

तिम्रो घर अगाडि चिल्ला गाडीएको लश्कर हुँदा
मैले बिरामी बोक्न एम्बुलेन्स पाइन ।
साथीहरु मिलेर लड्डू खादै छौ रे,
मैले पेट भरी अन्न पाईन ।

सुन्दै छू चीसोमा हीटर गर्मिमा एसी मिलायौ रे,
मैले सांस फेराउन एक मुट्ठी ऑक्सिजन पाईन ।
आफुलाई चटक्क मिलेको दौरा सुरुवाल सिलायौ रे,
मैले लास ढाक्ने कात्रो पाईन ।

सिंहदरबार भित्र घुम्ने कुर्सीमा तिमि घुम्दै गर्दा,
मैले अस्पतालमा शैया खोज्दा पाईन ।
आफुलाई फेरी सर्वशक्तिशाली बनायौ रे,
मैले श्रद्धाको आँसूपनि झार्न पाइन ।