हेटौंडा ३ जेष्ठ (मधेश टप):  जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ क्विन्टल लागुऔषध गाँजा र ट्रकसहित ३ जनालाई पक्राउ गरेको छ ।सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विषेश टोलीले विशेष सूचनाको आधारमा हेटौँडा उपमहानगरपालिका वडा नंम्बर १ त्रिभुवन राजपथस्थित सडक खण्डमा उनीहरूलाइ पक्राउ गरेकाे हाे ।

नामटार तर्फबाट हेटौँडातर्फ आउँदै गरेको ना २ ख ९८६२ नंम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा उक्त ट्रकको क्याबिनको भागको हुटमा फल्स बटम बनाएर लुकाई-छिपाई गाजा तस्करी गरिएकाे पत्ता लागेकाे थियाे । १७ वटा पोकामा १ क्विन्टल गाँजा रहेकाे थियाे ।

गाँजा र ट्रकसहित ट्रकका चालक जिल्ला काभ्रेकाे महाभारत गाउँपालिका वडा नंम्बर ५ बस्ने ४९ वर्षको आईते बहादुर ठाडामगरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।घटनाको प्रारम्भिक अनुसन्धानबाट प्रहरीले गाँजा ओसारपसारमा संलग्न भिमफेदी गाउँपालिका वडा नम्बर ९ बस्ने ४१ वर्षको राजकुमार तामाङ्ग र कैलाश गाउँपालिका वडा नंम्बर १० बस्ने ३६ वर्षको सुबिन रुम्बालाई पनि पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।