मनोज मोरबैता
जनकपुरधाम ,९ जेष्ठ(मधेश टप):  सामान्य बर्षा हुँदा समेत गाउँमा हिंडडुल गर्न नै समस्या हुन्छ । थोरै झरीले समेत गाउँ नै हिलाम्य बन्ने गर्छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ कपट्टीकनको व्यथा हो यो । यो ठाउँको विकासका लागि आफूले गर्ने हरेक काम गर्न तयार भएको पटक–पटक भाषण र प्रतिबद्धता व्यक्त गरे यहीं क्षेत्रबाट प्रदेश सांसदमा निर्वाचित रामअशिष यादवले । सांसद यादवको जन्मभूमी नै यहीं हो । तर, यहाँको अवस्था बर्षौदेखि दयनीय छ नै मुलुक संघीयतामा जाँदा पनि उस्तै छन् ।

यहाँसम्म कि यो ठाउँको वडा अध्यक्ष स्वयं सांसद यादवका भाई परमेश्वर यादव छन् । बिडम्बना दुई दाजुभाई नै जनप्रतिनिधी भएपनि यहाँ केहि पनि हुन सकेको छैन् ।

हल्का वर्षा भएमात्र स्थानीय सर्वसाधारणलाई बाटोमा आवतजावतमा निकैनै कठिनाई भइरहेको स्थानीयले गुनासो गरेका छन ।

चुनावको समयमा आफ्नो गाउँलाई नमुना गाउँ बनाउने सपना देखाएका प्रदेश सांसद राम आशिष यादवको भाई वडा अध्यक्ष परमेश्वर यादवले अहिले सम्म एउटा सडक बनाउन नसकेपछि स्थानीयबासीले चिन्तित बनेका छन् ।

आफूहरुले ठुलै सपना बोकेर प्रदेश सांसदमा रामआशिष यादव र वडाध्यक्षमा परमेश्वर यादवलाई चुनाव जिताएको बताएका छन् । तर चुनाव जितेपछी गाउँ र क्षेत्रलाई नमूना नबाई आफ्नो स्वार्थ पुरा गर्नमा तल्लिन भएको स्थानीय युवाहरु बताउँछन् ।

स्थानीय एक युवाले भने, “जसले आफ्नो गाउँको एउटा बाटो बनाउन सक्दैनन् । भने उहा मधेशलाई कसरी समृद्ध बनाउन सक्छन् ?

सामाजिक संजालमा निकै भाइरल भएका चार वटा तस्विर। तर त्यो चारवटै तस्वीर कनकपट्टिको हो । सो तस्वीर धेरै कुरा बताउछ ।
सडकमा जताततै खाल्टोको कारणले सर्वसाधारणलाई आवतजावतमा कठिनाई भैरहेको देखिन्छ । कयौ वर्षदेखि सडक मर्मत भएको छैन ।

सडकको छेउमा नाला बनेको वर्षौ भएको छ । तर ती नारामा जम्मा भएका पानीको निकास छैन । तर विडम्बना यस्तो छ । दाजु–भाईको नजर अहिले सम्म यता परेको छैन । अब कहिले दुवै दाइभाइको नजर यता तिर पर्ला भने आशामा स्थानीयबासीले बाटो हेरिरहेका छन् ।

यता ,सो सडकको विषयमा थप कुरा बुझन वडाध्यक्ष परमेश्वर यादव ,प्रदेश सांसद राम आशिष यादवलाई पटक पटक फोन सम्पर्क गरेपनि सम्पर्क हुन् सकेन् ।