काठमाडौँ (मधेश टप): एक हप्ताको लागि हामीले कडाइको साथ निषेधाज्ञा जारी गर्ने निर्णय गर्यौं। दाल, चामल, चिनीको आवश्यकता पर्छ भनेर हामीले एक हप्तामात्रै थपेका हौं,’ सहायक सिडिओ बस्नेतले भने,’एक हप्तासम्म मानिसहरूले स्टोर गर्न सकिने भएर यस्तो गर्यौं। स्टकमा पुग्ने गरी राख्नपर्यो।

दिनदिनै मानिसहरूले दाल चामल किन्न जाने भनेर भीडभाड गरेको हुँदा एक हप्ता किराना तथा डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णय गरेको उनले बताए। १२ दिन अगाडि थपेको निषेधाज्ञा १३ गते बिहीबार राति १२ बजे सकिँदैछ। शुक्रबार १ बजेदेखि थप एक साता निषेधाज्ञा थपिएको हो। ‘एक हप्ता यसरी कडाइका साथ निषेधाज्ञा गरेर हामी समीक्षा गर्छौं।

त्यसपछि थप निर्णय हुनेछ,’ बस्नेतले भने। त्यस्तै, बैंकका कर्मचारीहरूको पनि भीड बढेको भन्दै प्रशासनले जिल्लामा शाखा बैंकको हकमा प्रधान कार्यालय दुई वटा शाखा र वाणिज्य बैंकको हकमा प्रधान कार्यालय र तीन वटा शाखा खोल्न अनुमति दिएको छ। पत्रकारको हकमा पनि सूचना विभागको कार्ड अनिवार्य गरिएको छ। सूचना विभागको कार्ड नहुनेका लागि भने मिडिया हाउसको सिफारिसमा प्रशासनको अनुमति चाहिने सहायक सिडिओ बस्नेतले बताए।

निषेधाज्ञाको उल्लंघन गर्नेहरूका लागि जरीवाना तिराउनेदेखि कैद सजायसम्म गर्ने प्रशासनले चेतावनी दिएको छ। केही दिनअघि जारी भएको अध्यादेशमा निषेधाज्ञा कार्यान्वयनमा बाधा पुर्याए १ वर्ष र उल्लंघन गरे ६ महिना कैद हुन सक्ने र आदेश नमान्नेलाई सिडिओले एक लाख रुपैयाँ र संस्था पाँच लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ।

सरकारले कोरोनाभाइरसको संक्रमण रोक्न वैशाख १६ गतेदेखि दुई साताका लागि भनेर निषेधाज्ञा गरेको थियो। पछि उक्त निषेधाज्ञा दुई साताका लागि थपिएको थियो। देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरेको लगभग महिना दिन बित्न लाग्दा पनि नेपालमा कोरोना संक्रमण दर भने घटन् सकेको छैन। अहिले पनि औसतमा दैनिक ८ हजार संक्रमित थपिइरहेका छन .