राजकरण महतो

बर्दिबास (मधेश टप): कुनै बेला चैत्र–बैशाखमा बगरको बालुवा उड्ने महोत्तरीको भंगहास्थित रातु खोलाको दुई सय ४२ विग्घा बगर किसनाको पाँच वर्षको कठोर परिश्रमले बगैंचा बनेको छ । खोलाको बगरमा आँप लटरम्म फलेको छ । लिच्ची, कागतीको बोट लहलह हुर्किदैंछ । किसानहरुले बगरमै आँप बारीमै हरिया तरकारी खेती लगाएका छन् । परबल, भान्टा, रामतोरीया, फर्सी, लौका, काक्रो,खुर्सानी जस्ता सागसब्जी बिक्री गरेर मालामाल छन् ।विभिन्न जातका बीस हजार फलफूलका विरुवा रोपिएका छन् । ६१ विग्घा जमिनमा वृक्षरोपन गरेर किसानहरुले खाली जमिनमा खेतीपाती पनि गरिरहेका छन् । बगर खेतीले दुई सय ४८ घरपरिवारका जीवन फेरिएको छ । २५ दलित घरपरीवारलाई ऐलानी जग्गा दिएर आँपको बोट र खेती गर्न प्रोत्साहित गरेको छ ।
चार दशक अघि रातु खोलाको भिषण बाढी भंगहा नगरपालिकाको पर्सा, संग्रामपुर, कबिलाशा,मेघनाथ गोरहन्नाको दुई सय ४२ विघा जमिन कटान ग¥यो । किसानहरुको कन्ताबिजोग मात्रै भएन, उठिबासै लगायो ।‘खेतमा लहलह झुलेका धान, र मकै खेतमा बाढीको भेल कुदन थाल्यो,’पर्साका ५६ बर्षीय किसान रामनारायण सिंह भन्छन्,‘ छिनभरमै जमिन बालुवाले खेतको बालिनाली पुरिदियो । उर्वर भूमी बंजर बनायो । किसानहरुलाई भूमिहिन बनायो ।’ २०३२–०३३ सालको रातु खोलाको वितण्डाले दिएको दुःख उनले सुनाए ।

चार दशक सम्म खोलाले बनाएकोे बगरमा बालुवा उडिरह्यो । हावाले उडेर गाउँमा पस्ने धुलेले बस्न र खान गाउँलेलाई सताउँथ्यो । खोलाले सुकुम्बासी बनेका किसानहरु परिवार पाल्न दिल्लीपंजाब धाउन थाले । २०६४ सालयता जनताको तटबन्ध कार्यक्रमले रातु नदीका तीन भँगाला बाँधेर एउटामा मात्र पानी बग्ने बनाइएपछि बगर संरक्षित भएपछी अहिले किसानहरुलाई पंजाब जानु परेको छैन । उराठ लाग्दो बगरमा किसानहरुले तरकारी खेती गरेर जीवन चलाएको किसान रामपुकार सिंह बताउँछन् ।

‘गाउँलेहरुले बगरलाई संरक्षित क्षेत्र घोषणा गरेका छन् । चरिचरण निषेध छ । गाई वस्तु पसाए ११ सय जरिवना लग्छ,’ रातु खोला फलफूल रोपन समुहका अध्यक्ष जासर यादवले भने,‘सहयोगी संस्थाहरु खोजेर सिचाई बोरिङ्ग गाडेका छौं ।’ पानी तान्न पम्पिसेट खरिद गरेर सिचाइको प्रबन्ध मिलाइएको छ । सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिबास महोत्तरीको पहलमा रातु खोला फलफूल रोपन, चारपिपरा माई फलफूल तथा वृक्षा रोपन, र सुखदाता माई रातु खोला फलफूल तथा आयआर्जन समूह गठन गरेर किसानहरुले बगरलाई हरियाली बनाएका हुन् ।

पर्साका ४६ बर्षीय उत्तिम हुजेदार परिवार पाल्न पंजाब जानु परेको छैन । बगरमा आँप लगाएका छन् । त्यसैमा तरकारी खेती गरेर दंग छन् । एक बिघा बगरको उमिनमा उनले गएको मंसिरदेखि हालसम्म एक लाखको तरकारी बिक्री गरे ।करैला, लौका, प्याज, आलु, लसुन उब्जाए । बिहान ७ बजेदेखी अबैर साँझसम्म उनी बगरमै समय बिताउँछन् । ‘ तरकारी खेती गरेर एक लाख आम्दानी भयो, आँप, लिच्चीको बोट हुर्किदैंछ,’उनले भने,‘ खेत बगर भएर दुःखी भएका थियौं ।अहिले त्यही बालुवामा सुन जस्तै महँगोमा बिक्री हुने तरकारी उब्जिदा अच्चम लाग्यो ।’ खेतमै एटोमेटिक(चौंबीसै घण्टा पानी आउने) बोडिङ्ग गाडेका छन् । त्यहीबाट खेतमा सिचाई गर्छन्, अनि बगरमा हरिया सागसब्जी उब्जाउँछन्,उनी । उनले कृषी खेती गरेर ८ जनाको घरजहानलाई पालिरहेका छन् ।

संग्रामपुरका ५१ बर्षीय अर्का किसान भागिरथ यादवले १० कठ्ठा बगरमा ५० वटा आँपको विरुवा हुर्काइरहेका छन् ।‘खेतमा खोला पसेपछी धेरैले आश मारिसकेका थिए ।सरकारलाई मालपोत तिर्न छोडिसकेका थिए,’उनले भने,‘गाउँमा जब समुह गठन गरेर बगरमा संघर्ष सुरुभयो तब देखी बालुवामा मज्जाले तरकारी र आँपा फस्टाएको छ ।’ बगरको मानिसहरुले महिमा गाइरहेका छन् ।‘चार दशकको बक्यौता मालपोत तिर्न थालेका छन्,’उनले भने ।
दुई बिघा रातु खोलाको बगरमा भागिरथका नाती जयप्रकाश यादवले आँपको बोट हुर्कारहेका छन् ।‘हामीलाई खेतखेतमा सिचाइको खाँचो छ,’उनले भने,‘तरकारी तथा फलफूल सुरक्षित साथ बजार पठाउन एउटा कोल्डस्टोर चाहिएको छ ।’

पर्साका बाबुजी हुजेदार भन्छन्,‘ बगरमा फलफूलको बोट हुर्काएर हरियो वन, नेपालको धन भन्ने भनाइ पुरा गर्छौं ।’ लामो समय वृक्षा रोपनमा काम गरेका उनले आठ कठ्ठा बगर खेतमा ३२ वटा आँपको बोट रोपेका छन् । साँझ विहान पानी हालेर हुर्कारहेका छन् ।उनका छिमेकी सुपिद कुमार हुजेदारले १६ कठ्ठा ८५ वटा आँपका बोट लगाएका छन् । उनले त्यही भित्रको एक कठ्ठामा तरकारी लगाएका छन् । परवल बिक्री गरेर १० हजारबढी आम्दानी लिए ।
बगरमा बगैंचा फस्टाएपछी गाउँलेहरु हर्षीत छन् । ‘गाउँको मुहार फेरियो ।गाउँभन्दा पश्चिमको चौरीमा जता हेर्नुस्, रुखैरुख देखिन्छ ।’ बगैंचाको पल्टमा सडक बिस्तार गर्नु पर्ने खाँचो रहेको उनले बताए ।

चुरे क्षेत्रको वन विनासले गाउँ पस्ने गरेको निल गाई र जंगली सुगुँरले बाली खाएर किसानहरुलाई हैरान बनाएको छ । ‘चुरे क्षेत्रबाट अनियन्त्रण बालुवा ढुङ्ग उत्खन्नले मधेशको उर्बबर भूमी बर्बाद भइरहेको छ,’पर्साका रंजित हुजेदारले भने,‘चुरे क्षेत्रका अबैध क्रसर बन्द हुनै पर्छ ।’ चुरे दोहोनले पानीको तह घटदैं गएको उनले सुनाए ।

बगरलाई हरित क्षेत्र बनाउन अभियान चलाइरहेका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबास महोत्तरीका अध्यक्ष नागदेव यादव भन्छन्,‘बगरलाई कृषी पर्यटन स्थल तथा अध्ययन स्थल बनाउन लागि परेका छौं । ’स्थानीय सरकार र प्रदेश सरकारसंग बगरलाई हराभरा क्षेत्रलाई विकास गर्न समन्वय भइरहेको उनले बताए ।