काठमाडौँ : एमाले नेत्रृ राम कुमारी झाक्रीले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीबाट आएको पार्टी एकताको वक्तव्य झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनको लागि मात्रै भएको बताएकी छिन् ।
उनले भ्रममा नपर्न पनि सबैलाई आग्रह गरेकी छिन् ।एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ ३ अघिको पूर्वास्थाबाट अगाडि बढाउन तयार रहेको घोषणा गरेका थिए ।
जुन माधव नेपाल पक्षको मुख्य माग थियो ।एमालेका नेताहरु झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेताहरु असन्तुष्ट भई पार्टी विभाजनको स्थितिमा पुगेका बेला अध्यक्ष एवं प्रधानमन्त्री ओलीले उक्त प्रस्ताव आइतबार सार्वजनिक गरेका थिए ।
ओलीले नेकपा (माओवादी केन्द्र) सँगको एकतापछि निर्मित तत्कालीन नेकपाको केन्द्रीय कमिटीमा रहेका र हाल एमालेमा आएका नेतासहित केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचनाहरु क्रियाशील हुने जनाएका छन् ।
प्रतिक्रियास्वरुप झाक्रीले मिडियामा आएको ओलीको वक्तव्य पढेर आफूलाई खुशी लागेपनि एक पक्षबाट आएको यो वक्तव्यले पार्टी एकता जोगाउन नसक्ने ठहर गरेकी छिन् ।
`यो साच्चै एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्ष बिचमा सहमति गरि वरिष्ठ नेता कमरेड माधव नेपाल सहितको संयुक्त वक्तव्यको रूपमा आउथ्यो। एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होईन‘ झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनको लागि हो भनेर बुझ्नुपर्छ`, झाक्रीले फेसबुकमा लेखेकी छिन् ।
यस्तै ४ नम्बर बुँदामा हस्ताक्षर फिर्ता गरिनेछ भन्ने उल्लेख भएपनि संविधानलाई क्रियाशिल गराउन संसद पुनस्थापना नभएसम्म हस्ताक्षरण फिर्ता नहुने उनले स्पष्ट पारेकी छिन् ।
यस विषयमा स्थायी कमिटीको बैठक बसेर धारणा तय गर्ने झाँक्रीले जनाएकी छिन् ।