मधेश टप डेस्क,

काठमाडौं । प्रहरी जागिरको एउटा सपना ‘शान्ति मिसन’ थियो । एक पटक भएपनि मिसनमा जान पाइन्छ र त्यसले ठूलो आर्थिक राहत दिन्छ भन्ने कुराले प्रहरी जागिरको आकर्षण थियो । तर, यो आकर्षण पनि अब बन्द भएको छ ।

द्वन्द्वग्रस्त अफ्रिकी देश सुडानमा खटिएको नेपाल प्रहरीको फम्र्ड पुलिस यूनिट (एफपीयु) मिसन बन्द भएसँगै प्रहरीको शान्ति मिसन सपना तत्कालका लागि अन्त्य भएको छ ।सुडान मिसन बन्द भएपछि त्यहाँ कार्यरत ८६ प्रहरी स्वेदश फर्किएका छन् । अन्य ८३ जनालाई भने फरक जिम्मेवारीका लागि करिब ६ महिना राख्ने निर्णय भएको छ । एफपियुलाई पुलिस गार्ड यूनिट (पिजीयु)का रुपमा आगामी डिसेम्बरसम्म राख्ने निर्णय भएको छ । पिजियुले यूएन क्याम्प र बन्दोबस्तीका सरसामानको सुरक्षा गर्ने छ ।

सुरक्षा परिषद्ले गत ३१ डिसेम्बरदेखि नै सुडान मिसन बन्द गर्ने निर्णय गरेको थियो । जसअन्र्तगत यो वर्षभित्र राष्ट्रसंघ अन्र्तगत शान्ति मिसनमा खटिएका सबै सुरक्षाकर्मी फिर्ता हुनेछन् । सुडानमा विभिन्न देशका १३ वटा एफपियु कार्यरत छन् ।अन्य देशका सुरक्षाकर्मी पनि फिर्ता भएका छन् ।

पूर्ण रुपमा शान्ति स्थापना भइनसकेको भएपनि सुडान सरकारको दबाबमा सुरक्षा परिषद्ले मिसन अन्त्य गरेको हो । द्वन्द्वग्रस्त अफ्रिकी देश सुडानमा खटिएको नेपाल प्रहरीको ‘एफपीयु’ मिसन बन्द भएसँगै प्रहरीको शान्ति मिसन सपना तत्कालका लागि अन्त्य भएको छ ।सन् २००८ को सेप्टेम्बरमा स्थापना भएको प्रहरीको सुडानस्थित एफपीयू मिसन त्यही हो, जसको बन्दोबस्तीका सामान खरिदमा करोडौँ भ्रष्टाचार हुँदा सिंगो प्रहरी नै बदनाम भएको थियो । जून अनियमितता नेपाल प्रहरीका तीन पूर्वआइजीपीसहितका अधिकारीले जेल सजाय भोगेर छुटिसकेका छन् ।

मिसनका लागि आवश्यक एपिसीलगायत सामान खरिदमा २८ करोड अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।सुरुमा प्रयोग भएका सामान गुणस्तरहीन भएको भन्दै राष्ट्रसंघले प्रयोग गर्न नदिएपछि प्रहरीले पछि फेरि खरिद गरेर पठाएको थियो । मिसन बन्द भएसँगै ती सामान पनि अब नेपाल फिर्ता ल्याउनुपर्ने हुन्छ ।

हाल सुडानमा प्रहरीका ८ वटा एपिसी छन् । जसमध्ये २ वटा भने केही महिनाका लागि राखिने भएको छ । थप सामान राष्ट्रसंघले नै नेपाल ल्याइदिनेछ । नेपाल प्रहरी एफपीयू मिसन अन्र्तगत हाइटी र सुडानमा खटिएको थियो । हाइटी मिसन दुई वर्षअघि नै बन्द भइसकेको छ ।

सुडान मिसन पनि बन्द भएपछि शान्ति मिसनमा जाने प्रहरीको अवसर कम हुँदै आएको छ । एफपियु बाहेक प्रहरी पर्यवेक्षकका रुपमा ‘अनपोल मिसन’को कोटा पनि कम हुँदै गएको छ । हाल ३२ जना प्रहरी पर्यवेक्षकका रुपमा विभिन्न अफ्रिकी देशमा खटिएका छन् ।अनपोल मिसनका लागि राष्ट्रसंघले लिने परीक्षा उत्तीर्ण गरेका कतिपय प्रहरी अवसर कम हुँदा जान पाएनन् ।

कोरोना महामारी कम भएपछि फेरि अर्काे परीक्षा लिने प्रहरी प्रधान कार्यालयको तयारी छ । अनपोल मिसनमा पनि प्रहरीको अवसर कम हुँदै गएको छ ।शान्ति मिसनमा नेपाली सेनाको सहभागीता बढीरहेको बेला नेपाल प्रहरीको भने बन्द हुँदै गएको छ । विगतमा सामान खरिदमा भएको भ्रष्टाचारपछिको असरसमेत भएको केही प्रहरी अधिकारी बताउँछन् । राष्ट्रसंघले अर्काे एफपियू दिने बताउँदा नेपाल प्रहरीले सुडान मिसनको भ्रष्टाचारको कारण समयमा सामान किन्न सकेको थिएन ।