गौर ३० जेष्ठ (मधेश टप): रौतहटमा एक पुरुषले श्रीमतीमाथि तेजाव प्रहार गरेका छन् ।  जिल्लाको चन्द्रपुर नगरपालिका  ७ का ४२ वर्षीय दिपक विश्वकर्माले आफ्नै श्रीमती ३८ वर्षीय दीपिका विश्वकर्मामाथि तेजाव प्रहार गरेका हुन् ।

दीपकले घरायसी विवादका कारण दिपिकामाथि तेजाव प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।

घरायसी विषयलाइ लिएर दीपकले श्रीमतीमाथि तेजाव  प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी  सिद्धीविक्रम शाहले बतएका छन् ।

तेजाब  प्रहारबाट घाइते भएकी महिलालाई चन्द्रनिगाहपुरस्थित एपोलो अस्पतालमा उपचार भैरहेको छ भने एसिड प्रहार गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरि सकेको एसपी  शाहले बताए ।

चन्द्रनिगाहपुरमा मानिस एण्ड मनिषा गहना पसल सञ्चालन गर्दै आएका दीपकले सुन सफा गर्नमा प्रयोग गरिने तेजाब (एसिड) प्रहार गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइते भएकी महिलाको बायाँ हात, पेट र खुट्टा जलेको छ ।

दिपिकामाथि भएको घटनाको निन्दा गर्दै मेची महाकाली बुहारी संयुक्त आवाजकी प्रदेश २ संयोजक पूजा पाठकले यो खालको अमानवीय आक्रमण गर्ने पीडकलाई तत्काल कानुनी कार्वाही गर्न माग गरेकी छन् ।