वीरगञ्ज, ३० जेठ (मधेश टप):  जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) पर्साले निषेधाज्ञाको अवधि पुनः लम्ब्याएको छ ।

बैशाख १६ गतेदेखि जाी निषेधाज्ञाको अवधि छैठो पटक थप्दै असाढ ६ गते राति १२ बजेसम्मका लागि लम्ब्याएको डिसिसिएमसीका सदस्य एवम् नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले जानकारी दिए ।

डिसिसिएमसीका संयोजक एवम् पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अध्यक्षतामा आइतवार बसेको बैठकल निषेधाज्ञाको अवधि थपेको हो ।

विगतको तुलनामा संक्रमण दर घटेपनि निषेधाज्ञा हटाए पुनः संक्रमण बढ्न सक्ने हुँदा अहिले नै निषेधाज्ञालाई निरन्तरता दिइएको पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

औषधी उपचार एवं यस आदेशमा उल्लेख भए बमोजिमका अत्यावश्यक कामका लागि बाहेक घरबाट बाहिर निस्कन र हिँडडुल गर्न नदिनुका साथै सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, हाट बजार, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, आदी सञ्चालन गर्न दिइने छैन ।