मधेशटप डेस्क,

काठमाडौँ :  मन्त्रीबाट पदमुक्त भएको भोलिपल्टै निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश पहाडीले मन्त्री निवास छाडेका छन्।

तेह्र दिन मात्रै मन्त्री भएका पहाडीले बुधबार मन्त्री निवास छाडेका हुन्। उनले मन्त्रीको हैसियतमा पाएको गाडी र सुरक्षा गार्ड भने मंगलबार नै फिर्ता पठाएका थिए।

मंगलबार सर्वोच्च अदालतले २० जना मन्त्रीलाई पदमुक्त गर्न आदेश दिएलगत्तै बालुवाटार पुगेका मन्त्रीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल निवास नछाड्न भनेका थिए। प्रधानमन्त्री ओलीले आफ्नो सुविधामा पाएको गाडीसमेत प्रयोग गर्न भनेका थिए।

पहाडीले भने सामाजिक सञ्जाल फेसबुकमा आफ्ना धारणा राख्दै आफू मन्त्री हुँदा पाएको सुविधासमेत फिर्ता गरेको जानकारी गराएका छन्।

मन्त्रालयका १३ दिनमा आफूले १३ वटा काम गरेको उनले जानकारी गराएका छन्।

स्थानीय बजेट तथा कार्यक्रम तर्जुमा समिति र अनुगमन तथा सुपरीवेक्षण समितिको कार्यसञ्चालन कार्यविधि (नमूना) मस्यौदा निर्माण स्वीकृत, स्थानीय विपद जोखिम न्यूनिकरण रणनीतिक कार्ययोजना तर्जुमा दिग्दर्शन, २०७८ निर्माण/स्वीकृत लगायत काम गरेको उनले उल्लेख गरेका छन्।

उनले पार्टीभित्रको आन्तरिक एकता मजबुत बनाउन इमान्दार प्रयत्न गर्ने समेत उल्लेख गरेका छन्।

‘तपाईं-हामी सबैलाई थाहा छ, म आबद्ध पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले) को आन्तरिक जीवन यतिबेला निकै नै संकटग्रस्त छ,’ पहाडीले समाजिक सञ्जालमा भनेका छन्, ‘आफ्नो क्षमताले भ्याएसम्म पार्टीभित्रको आन्तरिक एकतालाई मजबूत बनाउन हरसम्भव इमान्दार प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

एमाले वरिष्ठ नेता माधव नेपाल पक्षमा रहेका पहाडी अन्तिम समयमा ओली पक्षमा लागेर मन्त्री बनेका थिए। वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन अनुपस्थित पहाडी कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा आफूहरूको हस्ताक्षर बुझाइएको भन्दै असन्तुष्ट बनेका थिए। सर्वोच्च अदालतलमा देउवाको पक्षमा हस्तक्षर गर्ने बेला पहाडी उपस्थित भएका थिएनन्।