मधेश टप 

जनकपुरधाम १३ असार:  धनुषाको सबैलामा आफै चलाउने टिपरले किचिएको अवस्थामा चालकको शव फेला परेको छ ।

चालक उदयपुरको कटारी नगरपालिका वडा नं. २ बस्ने रत्नबहादुर तामाङ्का छोरा २८ वर्षीय विष्णु भनिने बुद्ध लामाको शव चक्काले किचिएको अवस्थामा भेटिएको हो ।

धनुषाको सबैला नगरपालिका १० लवटोलिमा स १ ख ९०९ नम्बरको टिपरले किचिएको अवस्थामा बुद्धको शव भेटिएको छ ।
मृतकको टाउकोमा टिपरको चक्का र बालुवाले छोपिएको कारण अनुहार देखिएको छैन ।

मृतकको पहिचान नभएको र घटना अनुसन्धनकै क्रममा रहेकाले अहिले केहि पनि भन्न नसकिने इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजेश सिग्देलले मधेश टपलाई बताए । उनका अनुसार घटना शनिबार साँझ ६ बजेको हो ।

यता मृतक परिवारले चालक बुद्धको ह–त्या भएको दावी गरेको छ । टिपर ब्याक गरेर किचिएको जस्तो देखिएकाले भाइको ह–त्या नै भएको मृतकका दाई हरि लामाको भनाइ छ ।

घटना ह–त्या जस्तै देखिएकाले सुक्ष्म अनुसन्धान नगरी शव उठ्न नदिने नेकपा माओवादी केन्द्र उदयपुरका अध्यक्ष विनोद कटुवालले बताए । ‘घटनामा टिपर ब्याक गरी किचेर ह–त्या गरेको जस्तो देखिन्छ ।

जुन ठाउँमा किचिएर घटना भएको छ । त्यो ठाउँ गाडी फँस्ने ठाउँ नै होइन । अगाडी ट्याक्टरहरु थियो’ कटुवालले भने ‘घटना भएको बखत टिपर चालु अवस्थामा नै थियो । प्रहरी आएर बन्द गरे । टिपरको स्टेरिंगको फिंगर प्रिन्ट गरायो भने घटना आफै छर्लंग हुन्छ । प्रहरीले सुक्ष्म अनुसन्धान नगरेसम्म शव उठाउन दिन्नौं ’ उनले भने ।