मधेश टप
जनकपुरधाम,१९ असार : धनुषामा लागूऔषध मुद्दामा २ पटक सजाय पाएका एक युवक फेरि पनि गाँजासहित पक्राउ परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्था निवासी ३५ वर्षीय सन्तोष महासेठ तेस्रो पटक लागूऔषध गाँजासहित पक्राउ परेका छन् ।

महासेठले आफ्नै घरमा गाँजा लुकाएर राखेको विशेष सूचना पाएपछि शुक्रबार राति घरबाटै पक्राउ परेको धनुषाका प्रहरी प्रवक्ता तथा डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । उनको घरबाट २४ किलो २ सय ८० ग्राम गाँजा बरामद भएपछि उनलाई पक्राउ गरी अन्य अनुसन्धान शुरु गरिएको मिश्रले बताए ।

महासेठ यसअघि २०७४ साल साउन १५ गते पनि १ किलो गाँजासहित पक्राउ परेका थिए । उनी जिल्ला अदालतको २०७४ साल भदौ २५ गतेको आदेशमा एक महिना जेल बसी छुटेका थिए ।

त्यसपछि २०७५ साल साउन १३ गते पनि उनी ७० ग्राम गाँजासहित पक्राउ परेका थिए । प्रहरीले लागूऔषध मुद्दा दर्ता गरेपछि उनी २०७५ भदौ ११ गते जिल्ला अदालतको आदेशमा १५ हजार धरौटीमा छुटेको पाइएको डीएसपी मिश्रको भनाइ छ ।