• बिरेन्द्र साह

जनकपुरधाम :  सामाजिक सुरक्षा कोषमा आबद्ध हुने कार्यविधिप्रति गम्भीर असहमति प्रकट गर्दै जनकपुरमा बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरु आन्दोलित बनेका छन् ।

सरकारी कर्मचारी र बैंकिङ क्षेत्रबीच थूप्रै विभेद कायम रहेको भन्दै बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरु जनकपुरमा नाराजुलुससहित आन्दोलनमा उत्रिएका हुन ।

आन्दोलनमा उत्रिएका कर्मचारीहरुका अनुसार अहिलेसम्म नागरिक लगानी कोष वा संचय कोषमा जम्मा भएको रकम सामाजिक सुरक्षा कोषमा बुझाउनुपर्ने, सो बुझाएपछि अहिलेसम्म कमाएको रकम फिर्ता नआउने, पेन्सनको व्यवस्था भएपनि हालसम्म कमाएको वा जम्मा भएको रकम डुब्ने जस्ता थूप्रै विभेद रहेको छ ।

यसैलाई लिएर बैंकका २२ जना कर्मचारीहरुले अदालतमा मुद्दा पनि हालेका छन् । जसको भोलि ३१ गते विहीबार सुनुवाईको पेशी चढेको छ।

सामाजिक सुरक्षा कोष भएपनि आफूहरुको असुरक्षा भएकोले यसलाई स्वैच्छिक बनाउनुपर्ने उनीहरुको माग छ । आन्दोलनको प्रथम चरणमा आ–आफ्नो बैंक व्यवस्थापनलाई विरोधपत्र बुझाएका उनीहरुले मागको सुनुवाई नभएपछि आन्दोलन आक्रामक बनाउँदै सडकमा उत्रेका हुन् ।

यही आर्थिक बर्षको असार मसान्तअघि नै कोषमा दर्ता हुन सामाजिक सुरक्षा कोषले पत्र काटेपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु आजदेखि आन्दोलित बनेका हुन् ।

उनीहरुले आज बुधबार कोषको विरोधमा जनकपुरको रेल्वे स्टेशनबाट जुलुस प्रर्दशन गर्दै भानु चौकमा पुगेर सम्पन्न भएको हो ।

केही दिन अघिदेखि आ–आफ्नो बैंक तथा वित्तीय संस्थामा कालोपट्टी बाँधेर काम गरिरहेका उनीहरुले विभिन्न व्यानरसहित सडकमै निस्केर शहर परिक्रमा गरेका छन् ।

एकजना कर्मचारी भन्छन् “जसको सामाजिक सुरक्षा छैन, उसलाई कोषमा लैजानुपर्नेमा जसको पहिलेदेखि नै राम्रो सामाजिक सुरक्षा छ, उसलाई जबर्जस्ती लैजान खोज्ने कोषको कदम गलत हो । ”