मधेशटप डेस्क,

काठमाडौँ : महानगरपालिका–२१ भोटेवहालबाट १२ जनालाई तास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

शनिबार बोटेवहालस्थित राजकुमार नगरकोटीले कोठाभित्र जुवा खेलाइरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

अवैध रुपमा पैसाको हारजित हुने गरी तास खेलिरहेका उनीहरुको साथबाट प्रहरीले ५ लाख ३१ हजार ५ सय रुपैयाँ बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।

पक्राउ परेकाहरुको जनसेवा वृत्तबाट थप अनुसन्धान भइरहेको छ ।
बुटवल : दाङमा जुवा खेलिरहेको अवस्थामा एकलाख बढी नगदसहित १० जना पक्राउ परेका छन्। शुक्रबार दिउँसो साढे चार बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १३ डुमरगाउँबाट नगद १ लाख २२ हजार ५ सया १० रुपियाँसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १३ का ५२ वर्षीय कमान बुढा, ४२ वर्षीय लोकबहादुर घर्ती, ४५ वर्षीय प्रेम पुन, ३४ वर्षीय ज्ञानसिंह बुढा, ४२ वर्षीय आक्ष्तबहादुर घर्ती र ६८ वर्षीय गणबहादुर घर्ती रहेका छन्।त्यस्तै वडा नं. १५ निवासी २२ वर्षीय निमबहादुर रोका र ३३ वर्षीय ढोका घर्ती, वडा नं. १२ निवासी ४० वर्षीय तेजलाल पुन र वडा नं. १४ निवासी २६ वर्षीय त्रिपन बुढा रहेका छन्।

वीरगंज : जुवा खेलिरहेको अवस्थामा पर्सा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। वीरगंज महानगरपालिका वडा नम्बर १५ स्थित मेडिकल कलेज छेउको निर्माणाधीन भवनको माथिल्लो तल्लामा जुवा खेलिरहेको अवस्थामा रकमसहित उनीहरुलाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए।

पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका वडा नम्बर ६ का श्यामबाबु सोनार, वीरगंज-१५ बस्ने सुनिल सर्राफ, वीरगंज-३ का अली असगर अन्सारी, वीरगंज-१६ का भगवानप्रसाद महतो, बाराको महागढीमाई-१० का धिरेन्द्रप्रसाद जैसवाल, रौतहटको गौर-१ का रमेश चौधरी र भारतको बिहारका रामबाबुप्रसाद सोनार रहेका छन्।प्रहरीका अनुसार उनीहरुको साथबाट १ लाख ५८ हजार रुपैयाँ नगद र १० बुक ताससमेत बरामद भएको छ।

उनीहरुमाथि सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा नैतिकता विरुद्धको कसुर (जुवा) अन्तर्गत अनुसन्धान अगाडि बढाइएको छ।