भरतपुर : भरतपुर महानगरपालिका १४ शिवनगर स्थित कोभिड अस्पतालमा एक्स रे सेवा सुरु भएको छ । अस्पतालले बुधवार एक्स रे मेशिन जडान गरी सेवा सुरु गरेको हो ।

उक्त एक्स रे मेशिनको महानगर प्रमुख रेनु दाहालले एक कार्यक्रमका बीच उद्घाटन गरिन् । कार्यक्रममा बोल्दै मेयर दाहालले महानगर अन्तर्गतका स्वास्थ्य संस्था मध्ये शिवनगर स्वास्थ्य केन्द्रले उच्च स्तरीय सेवा दिदै आएको बताईन् ।

उनले हालै सम्पन्न नवौं नगरसभाबाट शिवनगर र शारदानगरको स्वास्थ्य चौकीको स्तरोन्नति गर्ने नितिगत निर्णय गरिएको बताईन् । यसले स्वास्थ्य सेवा लिन अन्यत्र जानुपर्ने स्थानीयको बाध्यता हट्ने उनको भनाइ थियो ।
शिवनगर स्वास्थ्य केन्द्र महानगरकै जेठो स्वास्थ्य संस्था भएकोले यसलाई नगर स्तरीय अस्पताल बनाउन बिशेष जोड दिइएको उनले बताईन् । यसका लागि केन्द्र सरकारसँग समन्वय गरिने उनको भनाइ थियो ।

उनले केही दरबन्दी आवश्यक रहेकोमा छिट्टै महानगरले व्यवस्थापन गर्ने बताईन् । स्वास्थ्य केन्द्रलाई भौतिक तथा स्रोत साधनले भरिपूर्ण बनाउन महानगर लागिपरेको उनको भनाइ थियो ।

यस्तै उनले कोभिड संक्रमितको उपचारका लागि स्वास्थ्य केन्द्रलाई कोभिड अस्पतालको रुपमा प्रयोगमा ल्याइएको भन्दै अस्पतालले संक्रमितहरुलाई उच्च स्तरीय सेवा दिइरहेको बताईन् । कोभिड अस्पतालमा एक्स रे मेशिन आवश्यक पर्ने भएकोले महानगरको तर्फबाट उक्त मेशिन सहयोग गरिएको उनको भनाइ थियो ।

७७ जनाले लिए सेवा

शिवनगर कोभिड अस्पतालमा ७७ जना संक्रमितले सेवा लिएका छन् । कोभिड अस्पतालको रुपमा स्थापना भएको २ महिनामा नै ७७ जना संक्रमितहरु अस्पतालमा भर्ना भएका हुन् ।

अस्पतालका जनस्वास्थ्य निरीक्षक प्रेमराज पौडेलका अनुसार ७१६ जनाले फिभर क्लिनिकबाट परामर्श लिएका छन् । फिभर क्लिनिकमा परामर्श लिइ कोभिड परीक्षण गराएका मध्ये ३१० जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

उनीहरु मध्ये ७७ जना अस्पतालमा भर्ना भएका हुन् । जस मध्ये ७० जना डिस्चार्ज भइसकेको पौडेलले बताए । ४५ जना सोही अस्पतालबाट तथा २३ जना अन्य अस्पतालमा रिफर गरिएकाहरु डिस्चार्ज भएका हुन् ।

उनीहरु मध्ये ७६ जना भरतपुरका हुन् भने १ जना गोरखाका हुन् । २ जना भने स्वास्थ्यमा सुधार भएपछि होम आइसोलेसनमा बसेको र त्यहीबाट डिस्चार्ज भएको उनले बताए ।

कोभिड अस्पतालको गत बैशाख २९ गते मेयर रेनु दाहालले उद्घाटन गरेकी थिईन् । जेठ २ गतेबाट अस्पतालले कोभिड संक्रमितहरुलाई सेवा दिन सुरु गरेको थियो । अस्पतालमा अहिले ४ जना चिकित्सक तथा ५ नर्स गरी ९ जना स्वास्थ्यकर्मीहरु रहेका छन् ।