काठमाडौँ :  पछिल्लो समय नेपालमा अननोन तथा प्राइभेट नम्बर (कल गर्दा रिसिभ गर्नेको मोबाइलमा नम्बर नदेखिने) बाट आउने कलको आतंक चिन्ताजनक रुपमा बढेको छ। कल आउँछ, नम्बर देखिँदैन।

मेसेज आउँछ, तर कसले पठाएको यकिन हुँदैन। नम्बर नै नदेखिने अवस्थामा कल कसले गरेको वा मेसेज कसले पठाएको हो, ठेगान हुनसक्ने कुरा भएन  यस्ता नम्बरहरुबाट कल तथा मेसेज गरी सर्वसाधारणलाई डर, धम्की र अनेक किसिमका ब्ल्याकमेलिङ गर्ने घटनाहरू बढेको नेपाल प्रहरीको साइबर ब्यूरोले बताएको छ।

यस्ता उजुरी बढ्न थालेपछि ब्यूरोले बेलाबखत सचेत रहन भन्दै सूचना समेत जारी गर्दै आएको छ। विभिन्न व्यक्तिको मोबाइल, ल्याण्डलाइनमा अननोन तथा प्राइभेट नम्बरबाट कल गर्दै नग्न तस्बिर माग्ने क्रम बढेको छ।

तपाईंको फेसबुक ह्याक भएको भन्दै साइबर क्राइम डिपार्टमेन्टको नामबाट अश्लील फोटो तथा भिडियो पठाउन लगाउने प्रवृत्ति समेत बढ्दै गएको छ। ब्यूरोले सचेत रहन र त्यस किसिमका कल आएको खण्डमा प्रहरीलाई जानकारी गराउन आग्रह त गर्छ। तर त्यस किसिमको कल गर्ने व्यक्ति भने पहिचान गर्न सक्दैन।

आखिर यस्ता अननोन अथवा प्राइभेट नम्बरबाट कसले अनि कसरी कल गरिरहेको हुनसक्छ?

अनौठो कुरा त यो छ कि नेपालका केही अनलाइन बजारमार्फत नम्बर नदेखिने कल गर्न तथा म्यासेज पठाउन सकिने रिचार्ज खुलेयाम रुपमा बिक्री हुँदै आएको छ । त्यस्तो रिचार्जको नाम हो, ‘स्काइप क्रेडिट’ ।

यस्तो ‘क्रेडिट’ खरिद गर्दा तपाईंले म्यासेजिङ तथा भिडिओ कलिङका लागि परिचित माइक्रोसफ्टको स्काइप एपबाट नै सजिलै नम्बर नदेखिने गरी कल गर्न र मेसेज पठाउन सक्नुहुन्छ । स्काइप क्रेडिट खरिद गर्दा त्यसको भुक्तानी गर्ने माध्यमको चिन्ता पनि तपाईंले लिनुपर्दैन ।

ईसेवा, आईएमई पे लगायतका चल्तिका मोबाइल वालेट र भिषा कार्डमार्फत सजिलै अनलाइन भुक्तानी गर्न सकिने सुविधा छ । स्काइप क्रेडिटबाट अननोन तथा प्राइभेट कल गर्ने सब्सक्रिप्सनका साथै स्काइप नम्बर खरिद गर्न सकिन्छ ।