मधेशटप,

जनकपुरधाम :  धनुषाको बटेश्वर गाउँपालिका ४ स्थित शिवशक्ति माध्यमिक विद्यालय (प्राविधिक तथा व्यवसायिक शिक्षा)का विद्यार्थीहरुलाई साइकल र ब्याग वितरण गरिएको छ ।

सोमबार विद्यालयमा आयोजित एक समारोहबीच कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल र कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्यार्थीहरुलाई ब्याग वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले नेता एवं पूर्वमन्त्री रघुबीर महासेठ र गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतले संयुक्त रुपमा साइकल र ब्याग विद्यार्थीहरुलाइ बितरण गरे । विद्यालयका प्रधानाध्यापक गुरुशरण केवटले प्रदेश सरकारको बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत ८१ छात्रालाई साइकल वितरण गरिएको जानकारी दिए ।

उनका अनुसार विद्यार्थीका लागि ६३६ ब्याग आएको छ । जसमध्ये कक्षा ६, ७ र ८ का करिब ३५० विद्यार्थीलाई ब्याग वितरण गरिएको छ ।

बाँकी ब्याग मंगलवार वितरण गर्ने कार्यक्रम छ । कार्यक्रममा नेता महासेठले केपीशर्मा ओली नेतृत्वको सरकारले सबभन्दा बढी सडक र पुल बनाएको दावी गरे । उनले आफू मन्त्री भएको बेला कुनै क्षेत्रलाई विभेद नगरी विकास गरेको बताए ।

यो खबर आजको जनकपुरटुडे दैनिकमा छापिएको हो ।