काठमाडाैं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्ध धर्मको धार्मिक ग्रन्थ हो भनी झुक्याएर सर्वसाधारण ठगेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका-१ घर भई माकलबारी बसिरहेका २० वर्षीय आशिष लामा तामाङ र भोजपुर रामप्रसाद गाउँपालिका-७ घर भई हाल काठमाडौं चाबहिल बसिरहेका ३० वर्षीय रजिन राई हुन् ।

उनीहरूलाई बिहीबार गोकर्णेश्वर नगरपालका-८ आरुबारीबाट पक्राउ गरिएको अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए ।

उनीहरूले आरुबारी नै बस्ने हेमप्रकाश मगरबाट १३ लाख ७९ हजार रूपैयाँ ठगी गरेको प्रहरीको दाबी छ । तामाङ र राईले धार्मिक ग्रन्थ देखाएर त्यसको मूल्य ३ करोड ८५ लाख पर्ने बताउँदै मगरलाई झुक्काएका थिए ।

पक्राउ परेका दुबै जनालाई कारबाहीको लागि काठमाडौं जिल्ला प्रहरी परिसर पठाइएको कोइरालाले बताए ।