जनकपुरधाम । प्रदेश २ सरकारले खरिद गरेको वारुण यन्त्र प्रदेश प्रहरीले आफ्नो जिम्मा लिन अप्रत्यक्ष रुपमा ईन्कार गरेको छ ।

वारुण यन्त्र सञ्चालनमा खर्च लाग्ने भएको र उक्त खर्च व्यवस्थापन नभएर सम्म आफुहरुले वारुण यन्त्र जिम्मा नलिने प्रदेश प्रहरीले जनाएको छ । वारुण यन्त्र सञ्चालन गर्न आवश्यक पर्ने ईन्धन, मर्मत सम्भारको लागि आवश्यक पर्ने बजेट लगायतका माग गरेपछि प्रदेश सरकारले वारुण यन्त्र प्रहरीलाई जिम्मा लगाउन अलमलमा परेको छ ।

तत्कालीन आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कुमार यादवले वारुण यन्त्र सञ्चालन सम्बन्धी कार्यविधि नै नबनाई कमिशनको प्रलोभनमा ९ वटा वारुण यन्त्र हतारमा खरिद गरेका थिए ।

उनले ती वारुण यन्त्र आगलागी तथा आन्दोलनको समयमा प्रयोग गर्ने उदेश्यले प्रदेश प्रहरीलाई जिम्मा लगाउने बताएको थियो । तर वर्तमान आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले प्रहरी अझै प्रदेश मातहतमा आउन नसकेकोले त्यसमा लगानी गर्न नहुने सार्वजनिक रुपमै अभिव्यक्ति दिदै आएका छन् । य

स्तो अवस्थामा खरिद गरिएको वारुण यन्त्रहरु लामो समयदेखि मधेश भवनको परिसरमा थन्काईएर राखिएको छ । प्रदेश २ का प्रहरी प्रमुख डिआईजी उमेश रंजितकारले भने,‘ वारुण यन्त्र चलाउन हामी आफ्नो जनशक्ति दिन्छौ ।

तर वारुण यन्त्र सञ्चालनको लागि चाहिने ईन्धन, मर्मत सम्भारको लागि खर्च त प्रदेश सरकारले व्यवस्थापन गर्नुपर्छ भनेर माग गरेका छौ । ’ ‘अहिले हामीसँग भएका गाडीहरुकै सञ्चालनको लागि चाहिने ईन्धन तथा मर्मतको लागि वजेटको अभाव हुन्छ । यस्तो अवस्थामा थप सवारीको लागि चाहिने इन्धन तथा मर्मतको खर्च कहाँ बाट ल्याउछौ ? उनले भने । प्रदेश सरकारले ती वारुण यन्त्रहरु प्रत्येक जिल्ला प्रहरी कार्यालयमा राख्ने भनेको छ ।

तर प्रदेश प्रहरीले जिल्ला प्रहरी कार्यालयमा आफ्नै जनशक्तिको अभाव रहने गरेकोले ती वारुण यन्त्रहरु जिल्लामा नभई प्रहरी तालिम केन्द्र र गणहरुमा मात्रै राख्न सक्ने प्रदेश सरकारलाई जानकारी गराईएको डिआईजी रंजितकारले बताए ।

यता, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव विरेन्द्र यादवले वारुण यन्त्र प्रदेश प्रहरीलाई हस्तान्तरण गर्ने विषयमा छलफल भईरहेको बताए । वारुण यन्त्र जिम्मा लगाउने विषयमा प्रहरीसँग एक/दुई पटक छलफल भएको छ, सचिव यादवले भने,‘ उहाँहरुले केहि प्रस्ताव राख्नु भएको छ, तर त्यस विषयमा अहिले सम्म कुनै टुंगो लाग्न सकेको छैन ।’