जनकपुरधाम :  जनकपुरधामस्थित एक रेडियोको टावर गैरकानूनी रहेको ठहर गर्दैै न्यायिक समिति जनकपुरधाम उपमहानगरपालिकाले जरिवाना गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने राजेश साहले जनकपुरधाम उपमहानगरपालिकाको मापदण्ड विपरीत चार तल्ले घर निर्माण गरेको र सो घरको छतमा गैरकानुनी ढंगले रेडियो मिथिलाको टावर खडा गरेको भन्दै २०/२० हजार रुपैयाँ जरिवाना गरेपछि तिरेको हो ।

जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिका संयोजक रिताकुमारी मिश्र समक्ष वादी चन्द्रमोहन चौधरीले रेडियो मिथिलाको टावरले व्यापक क्षति हुने र विना इजाजत निर्मित टावर हटाइ पाउँ भन्दै मुद्दा दायर गरेका थिए ।

०७२ सालमा दिएको सो मुद्दालाई बेवास्ता गर्दै खारेज गरेको थियो । तर, वादी चन्द्रमोहन चौधरीले उच्च अदालत जनकपुरधाममा ०७३ मा मुद्दा दिएपछि सो मुद्दामाथि न्यायाधीश मुहम्मद साविर हुसैन र न्यायाधीश ठाकुर प्रसाद शर्मा पौडेलको संयूक्त इजलासले कारवाही गर्नका लागि पुनः जनकपुरधाम उपमहानगरपालिकालाई आदेश दिएको थियो ।

त्यसपछि न्यायिक समितिका संयोजक रिताकुमारी मिश्रले राजेश साह र उनको घरमा रहेको रेडियो मिथिलालाई विपक्षी बनाई रेडियो मिथिलाको टावर गैर कानूनीरुपमा खडा गरिएको र गैरकानूनी ढंगले चार तल्ले घर निर्माण गरेको भन्दै घरधनीबाट २० हजार रुपैयाँ र रेडियो मिथिलाका संचालकसंग समेत २० हजार रुपैयाँ तिराएको थियो ।

रेडियो मिथिलाको टावर हटाउनका लागि समेत जनकपुरधाम उपमहानगरपालिकाले निर्णय गरेको छ ।

घरधनी राजेश साहलाई कारवाही स्वरुप जरिवाना गरेर रेडियो मिथिलाको टावरलाई गैरकानूनी रहेको ठहर गरे पनि जनकपुरधाम उपमहानगरपालिकाले भने रेडियो मिथिलाका संचालकलाई हाजिर हुनका लागि २०७५ पुस २३ गते नै गरेको छ ।

तर संचालक विश्वनाथ साह हालसम्म पनि जनकपुरधाम उपमहानगरपालिकाको न्यायिक समितिमा उपस्थिति नहुँदा कारवाही प्रक्रिया अघि बढाइएको छैन ।

यता वादी चन्द्रमोहन चौधरीले जनकपुरधाम उपमहानगरपालिकाले २०७५ पुस २३ मै निर्णय गरे पनि हालसम्म रेडियो मिथिलाका संचालक विश्वनाथ साहलाई कारवाही गरी सो ठाउँबाट टावर नहटाएकोमा आक्रोश व्यक्त गरे ।

उनले निर्णय भएको तीन वर्ष वित्दा पनि हालसम्म जनकपुरधाम उपमहानगरपालिकाले आफूलाई अनाहकमा तारेखमाथि तारेख दिएर गलत कार्य गर्नेलाई प्रोत्साहन र समाजको भलो सोच्नेलाई निरुत्साहित कार्य गरेको आरोप लगाए ।

चन्द्रमोहन चौधरीले जनकपुर अंचल प्रहरी कार्यालयको दक्षिणपट्टि सटेकै तेश्रो घर राजेश साहको पक्की चार तल्ले मकानको छतमाथि यस कार्यालय समेतको जानकारी मन्जुरी इजाजत विना मापदण्ड असुरक्षित किसिमबाट घरधनी समेतको मिलेमतोमा यस जनकपुरधाम उपमहानगरपालिका अवस्थित रेडियो मिथिलाका संचालक पक्षबाट गरे गराएको जसबाट जुनसुकै बखत हावा हुरीबाट टावर खसी सर्वसाधारण जनताको जनधनको क्षति नोक्सानी पुग्नुको साथै सुरक्षाको दृष्टिकोणबाट अंचल प्रहरी कम्पाउण्डमा बेलाबखत अवतरण हुने र उडान हुने भएको हेलिकप्टर समेत टावरमा ठोकिइ क्षतिग्रस्त हुन जानुको साथै सुरक्षा कार्य समेतमा बाधा पुग्न जाने भएकोले सो विना इजाजत गैरकानुनी असुरक्षित टावर निर्माण कार्यप्रति आवश्यक जाँचबुझ गरी कानुनी कारवाही गरी यथासीघ्र टावर सो ठाउँबाट हटाउन लगाई शान्ति सुव्यवस्था कायम गरि पाउँ भनी निवेदन दिएका थिए ।