मधेशटप,

जनकपुरधाम : निर्वाचन आयोगले उपेन्द्र यादवलाई आधिकारिताकता प्रदान गरेसँगै जनता समाजवादी पार्टी विधिवत रुपमा दुई चिरामा विभिाजित भएको छ । आधिकारिकता पाएपछि उपेन्द्र यादवले जसपाको नाममा पार्टीको आगामी रणनीति तथा कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् भने जिल्ला दौडाहामा निस्केका ठाकुर–महतो समूहले पनि जसपाकै नाममा जिल्ला–जिल्लामा कार्यक्रम गर्दै नयाँ पार्टी दर्ताको अभियानमा लागेका छन् ।

जिल्ला–जिल्लामा कार्यक्रम गरि जनतासँग भेटघाट गरिरहेका ठाकुर–महतो समूहमै असन्तुष्टि देखिएको छ । खासगरि महन्थ ठाकुर नेतृत्वका तत्कालिन तमालोपाभित्र चरम असन्तुष्टि देखिएको हो ।

तत्कालिन राजपाभित्र रहेका तमालोपाका नेताहरु वृषेशचन्द्र लाल, डा. विजय कुमार सिंहलगायतका नेताहरु अहिले महन्थ ठाकुरसँग असन्तुष्ट छन् ।

जसपा निकट स्रोतका अनुसार असन्तुष्टिको बहाना देखाई पार्टीको माथिल्लो तहमा उनीहरु उपेन्द्र यादवसँग साँठगाँठ गरेका छन् भने तल्लो तहमा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा काँग्रेस नेता विमलेन्द्र निधिलाई आउने निर्वाचनमा सहयोग गर्ने वचन दिएको र सोही अनुसार पार्टीभित्र गतिविधि सञ्चालन गरिरहेका छन् ।

जसपामा यादवले पार्टीको आधिकारिकता प्राप्त गरेपछि जसपाका ठाकुर–महतो पक्ष जिल्ला तथा प्रदेशमा कार्यकर्ता भेलालगायतका कार्यक्रम गरिरहेका छन् । तर वृषेशचन्द्रलगायतकाले त्यसको विरोध गर्दै वहिष्कार गरेका छन् ।

कार्यक्रमको ढाँचा पुरानो प्रणालीमा रहेको भन्दै वृषेशचन्द्रलगायतका नेताले असन्तुष्टि जनाउँदै कार्यकर्ता भेला कार्यक्रम बहिष्कार गरेका हुन् । पार्टीले वृषेशचन्द्र लाल, डा.विजय सिंहलगायतका नेताहरुलाई विभिन्न जिल्लामा खटाइए पनि उनीहरु कुनै पनि कार्यक्रममा सहभागी भएनन् ।

स्रोतका अनुसार असन्तुष्ट भनिएका नेताहरुको कुनै समस्या नरहेको र उनीहरुले असन्तुष्टिको झुठो नाटक गरि बहाना बनाईरहेका छन् र निकट भविष्यमा छिट्टै उपेन्द्र यादव नेतृत्वको पार्टीमा प्रवेश गर्नेछन् ।

स्रोत भन्छन्,–‘असन्तुष्टको झुठो नाटक गरे पनि उनीहरुले कुनै पनि माग पार्टीमा पेश गरेको छैन, वृषेशचन्द्रलगायकाको भित्री उद्देश्य एउटै रहेको छ, धनुषामा ३ मा आगामी निर्वाचनमा विमलेन्द्र निधिलाई जिताउने ।’

२०७४ को निर्वाचनमा समेत वृषेशचन्द्रलगायतका नेताहरुले निधिलाई सहयोग गरेका थिए भने आफ्नै पार्टीलाई हराउन लागिपरेका थिए ।