जनकपुरधाम : धनुषाको हँसपुर नगरपालिकाका प्रमुख र उपप्रमुख सहित हत्या संलग्न जनप्रतिनिधिहरु बिरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ पूर्जी जारी गरेको लगत्तै उनीहरु फरार भएको छ ।

हँसपुर नपाका प्रमुख रामज्ञान मण्डल, उपप्रमुख रेणु झा र वडा अध्यक्षहरुको नाममा धनुषा प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो ।

कार्यालय सार्ने विषयमा प्रमुख मण्डल र उपप्रमुख झा पक्ष बिचको विवाद उग्र लिएपछि झडप भएको थिए । सो आन्दोलनको क्रममा प्रहरीको कुटाईबाट घाइते भएका स्थानीय तपेश्वर मण्डलको उपचारको क्रममा मृत्यु भएको विषयलाई लिएर उनीहरु विरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो ।

हँसपुर नगरपालिकाको कार्यालय नसार्ने पक्षमा नगर उपप्रमुख रेणु झा थिईन् । उनकै पक्षमा रहेका तपेश्वर मण्डलको मृत्यू भएपछि तपेश्वरका छोरा राजकुमार मण्डलले नगरप्रमुख रामज्ञान मण्डल, उदय सिंह, श्याम राउत सहितकामाथि जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएका छन् ।

मृतकका छोरा राजकुमारको जाहेरीको आधारमा धनुषा प्रहरीले करिब दुई वर्षपछि हँसपुर नगरपालिकाको कार्यपालिका सदस्य श्याम राउतलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिएका छन् ।

तपेश्वर मण्डलको मृत्यू प्रकरणका मुख्य आरोपी प्रमुख रामज्ञान मण्डल, उपप्रमुख रेणु झा र हँसपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष उदय सिंह, वडाध्यक्ष किशोरी यादव र नगर कार्यपालिका सदस्य राउतमाथि पीडित पक्षले दिएको जाहेरी दिएको अनुसार धनुषा प्रहरीले कारवाही प्रक्रिया अघि बढाएको छ ।

२०७६ साउन २१मा हँसपुर नगरपालिकाको कार्यालय सार्ने र नसार्ने विषयमा भएको आन्दोलनको क्रममा झडपमा घाइते भएका तपेश्वर मण्डलको प्रदेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा २०७६ भदौ १८ गते मृत्यु भएको थियो ।

पक्राउ पूर्जी जारी भएलगत्तै हँसपुर नगरपालिकाका जनप्रतिनिधिहरु फरार भएका छन् । फरार आरोपीहरुको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।