जनकपुरधाम :  विद्यालयमा भारतीय भन्दै मुख्यमन्त्रीले वितरण गर्दै आएको साईकलबाट वंचित वनाइएपछि निकै नै रोएकि एक वालिकालाई जिल्ला युवा संजाल धनुषाले सरप्राइज दिदै खुसी वनाएको छ ।

भारतको सितामढीबाट आएर विगत ४५ बर्षदेखि जनकपुरधाममा बस्दै आएका मो आलमकी छोरी लाडली खातुनलाई जिल्ला युवा संजाल धनुषाद्धारा साइकल प्रदान गरिएको हो । खातुन कक्षा ९ मा अध्ययनरत छिन् ।

‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत जनकपुरधामको जानकी माविमा गरिएको साइकल वितरण कार्यक्रममा लाडली खातुनलाइ भारतिय चेली भएकै कारण साइकल दिइएको थिएन् । खातुन आफु नियमित विद्यालय आउने विद्यार्थी रहेकाले आफुले पनि साइकल पाउनुपर्ने भन्दै आफ्नो पिडा मिडियामा राखेकी थिइन् । लाडली रुँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

१५ अगस्तका दिन भारतको स्वतन्त्रता दिवसको अवसरमा भारत सरकारले नेपाललाई विभिन्न सहयोग, अनुदान तथा अत्याधुनिक सवारी साधन समेत प्रदान गर्ने गर्दछ । तर भारतिय चेली रहेको भन्दै स्वतन्त्रता दिवसकै दिन खातुनले साइकल नपाएपछि आँसु झार्नु परेको थियो ।

 

उनलाई भारतिय रहेको र उनीसँग जन्मदर्ता समेत नरहेकाले उनलाई साइकल दिइएको थिएन । विद्यालयका शिक्षक गौरीशंकर लाल कर्णले यस विषयमा मुख्यमन्त्री कार्यालयको साइकल वितरण फाँटमा व्यापक बहस समेत भएको बताए ।

भारतको आधार कार्डको आधारमा विद्यालयमा भर्ना गर्न मिल्ने, पढाउन मिल्ने तर, वर्षौंदेखि विद्यालय आउने बालिकालाई सुविधा दिन किन नमिल्ने ? उनको मनोविज्ञानमा के असर पर्छ , लगायतका सवालहरुमा बहस भएको थियो । तरपनि खातुनका लागि साइकल नपठाएको उनको गुनासो छ ।

जिल्ला युवा सञ्जाल धनुषाको टीम लाडलीको घरमै पुगेर एक थान साइकल र स्टेशनरीको सामान हस्तान्तरण गरेको छ । सञ्जालले भविष्यमा अझै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै खातुनलाई साइकल हस्तान्तरण गरेको हो ।