उमेश कुमार साह
राजबिराज , ०४ भदौ
सप्तरीको खडक नगरपालिका ८ स्थित भदियाबाट बिहीबार प्रहरीले ठूलो परिमाणमा अबैध घरेलु मदिरा बरामद् गरी नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय कल्याणपुरका प्रमुख प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको नेतृत्वमा खटिएका प्रहरी टोलिद्वारा अबैध घरेलु मदिरा बरामद् गरी नष्ट गरेको हो ।

स्थानीयबासीले लुकिछिपी संचालन गरेको रक्सी भट्टीमा छापा मारी पाँच हजार लिटर घरेलु मदिरा तथा कच्चापदार्थ बरामद् गरेको ईलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । प्रहरी टोलिद्वारा घरेलु मदिरा बनाउने कच्चापदार्थ सक्कर अन्दाजी एक हजार किलोग्राम, दुईसय लिटरको पानी ट्याङ्की १ थान, प्लाष्टिकको भाँडा ६ थान, सिल्बरको भाँडा ३ थान, डेक्ची १ थान नियन्त्रणमा लिएको जनाएको छ ।

यसैगरी सोही स्थानका बिभिन्न घरधुरीबाट ५० बोट अबैध गाँजा फडानी गरि नष्ट गरेको प्रहरीले जनाएको छ । बरामद् मदिरा तथा कच्चापदार्थ र गाँजाको बोट स्थानीय भद्रभलादमी रोहबरमा सोही ठाउँमा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय कल्याणपुरका प्रमुख प्रहरी निरीक्षक साहले जानकारी दिए ।