सर्लाही । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोको घर भएकै चन्द्रनगर गाउँपालिका-२ का वडाध्यक्षले लोसपा छाडेका छन् । उनीसँगै राजनीतिमा २०औं वर्ष विताएका वडाध्यक्ष रामनारायण महतोले उनकै व्यवहारका कारण साथ छाडेका हुन् ।

नेता महतोसँगै सद्भावना पार्टीमा लागेका उनी पछि राजपा र एकीकरणपछि जसपा बनेका थिए । वडाध्यक्षको चुनाव राजपाबाट लडेका रामनारायणले लोसपा छाड्दा नेता महतोलाई ठूलो धक्का लागेको छ ।

‘हामीले वहाँ (राजेन्द्र महतो) का लागि राजनीतिमा जीवननै दियौं,’ रामनारायणले वेबटिभी खबरसँग भने, ‘चुनावमा जितायौं, ठूलो मान्छे बनायौं तर, कार्यकर्तालाई उहाँले कहिल्यै वास्ता गर्नु भएन् । उहाँको परिवारवाद, अहंकार, आफ्ना कार्यकर्ताप्रतिको बेवास्ता, हिटलरी शैलीले गर्दा हामी लोसपामा बस्न सकेनौं ।’

चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा राजेन्द्र महतोकै दाजु महेन्द्र महतोले जितेका हुन । त्यही क्षेत्रबाट प्रदेश सांसदमा राजेन्द्रका भतिज (महेन्द्रका छोरा) उपेन्द्र विजयी भएका छन् । दाजु अध्यक्ष भएको गाउँपालिका, भतिजले जितेको प्रदेश क्षेत्र भए पनि आफ्नै घर भएको वडाका अध्यक्षलाई राजेन्द्र महतोले पार्टीमा समेट्न सकेनन् । ‘राणाको शैलीमा शासन चलाउन खोज्या यो अवस्था आएको हो,’ स्थानीय एक शिक्षकले भने ।

वडाध्यक्ष रामनारायणले आफ्नै गाउँको नेता भएर पनि राजेन्द्र महतोले कुनै वास्ता नगरेपछि लोसपामा बस्ने आधार सकिएको उल्लेख गरे । ‘लोसपाका अध्यक्ष महन्थ ठाकुर राम्रो नेता भए पनि हाम्रो गाउँको होइनन, ठाकुरजीसँग हाम्रो गुनासो पनि छैन,’ उनले भने, ‘तर, जसका लागि जीवनभर राजनीति गर्यौं उनको व्यवहारका कारण मात्र हामीले लोसपा बस्न सक्ने अवस्था नै भएन ।’

राजपाबाटै चुनाव जितेका ४ नम्बर वडाका वडाध्यक्ष जगदिश साहले पनि लोसपा रोजेनन् । आफ्नै गाउँमा अलोकप्रिय हुनुमा राजेन्द्र महतोको अहंकारी व्यवहार प्रमुख कारण भएको स्थानीय बताउँछन् । उनलाई सहयोग गर्नकै लागि राजनीति गरेका अधिकांशले साथ छाडेका छन् । आफ्नै गाउँमा जनाधार निकै कमजोर भएका महतोलाई जिल्लाका नेताले पनि छाडेका छन् ।

पहिलाको जस्तो भाषण, आश्वासन, झुठा कुरा गरेर राजनीतिक नचल्ने रामनारायणले बताए । ‘अहिले युवालाई झुक्याउन सकिन्छ भनेर नेताले सोच्यो भने त्यो गलत हुन्छ,’ रामनारायणले भने, ‘अब कोही झुक्किने वाला छैन ।’

गृहजिल्ला र गृहनगरमा राजेन्द्र महतोको अवस्था निकै कमजोर बनेको रामनारायण बताउँछन् । सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी प्रमोद साहले पनि राजेन्द्र महतोलाई छाडेको उल्लेख गर्दै रामनारायणले भने, ‘राजेन्द्र महतोका लागि धेरै योगदान गरेका नेताहरु हहिले उहाँको साथमा छैनन् । यस्तो हुनुमा उहाँकै दोष छ ।’