जनकपुरधाम :  नवगठित नेकपा (एकीकृत समाजवादी) प्रदेश २ सरकारमा सहभागी हुने भएको छ । निर्वाचन आयोगमा नेकपा (एस) र लोसपाको सनाखत सकिएसँगै प्रदेश सरकार विस्तार अघि बढाएको छ ।

संघीय सरकारमा बनेको समिकरण जस्तै प्रदेशमा बनाईने दलहरु बीच सहमति भएको छ । जनता समाजवादी पार्टीको नेतृत्वमा काँग्रेस र माओवादी केन्द्र सहभागि भइसकेका छन् । नेकपा(एस) लाई सहभागि गराउन मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालयको संख्या पनि बढाउने तयारी गरिरहेको एक नेताले बताए । करिव दुई महिना अगाडी काँग्रेस र माओवादीलाई सरकारमा सहभागि गराउन पनि मन्त्रालयको संख्या थप गरिएको थियो । नेकपा (एस)मा प्रमुख सचेतक सुन्दरवहादुर विश्वकर्माले दुई मन्त्रालय सहित आफुहरु सरकारमा जाने विषयमा छलफल भईरहेको बताए । ‘

प्रदेश २ सरकारमा सहभागी हुने विषयमा जसपाका शीर्ष नेताहरुसँग अनौपचारिक छलफल भईरहेको बताए । प्रदेश सरकारले विभिन्न ६ वटा मन्त्रालयलाई टुक्राएर १० वटा मन्त्रालय पुर्याएको छ । भौतिक पुर्वाधार विकास मन्त्रालयलाई टुक्राएर खानेपानी तथा उर्जा विकास मन्त्रालय, समाजिक विकास मन्त्रालय टुक्राएर महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय टुक्राएर कानुन न्याय तथा प्रदेश मामिला मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय टुक्राएर वाणिज्य आपुर्ति तथा वातावरण मन्त्रालय बनाएको छ ।

थप गरिएका मन्त्रालयमध्ये खानेपानी तथा उर्जा विकास र महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालयमा काँग्रेसले मन्त्री पठाईसकेको छ । कानुन न्याय तथा प्रदेश मामिला र वाणिज्य आपुर्ति तथा वातारण मन्त्रालय मुख्यमन्त्री राउतले आफै सँग राखेका छन् । बाँकी रहेका यी दुई मन्त्रालयमा नेकपा (एस) आउन तयार छैन । माओवादीले पनि सहमतिअनुसारको दुई मन्त्रालय दावी गर्दै आएको छ । माओवादी र जसपाबीच सत्ता साझेदारीको विषयमा माओवादीलाई २ मन्त्रालय दिने सहमति भएको थियो । तर माओवादी पार्टी भित्रै मन्त्रीहरुको आकांक्षी बढी भएकोले तत्काल एउटै मन्त्रालय पाएको छ ।

आन्तरिक मामिला तथा संचार मन्त्री तथा माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साहले भने,‘ हामी दुई मन्त्रालयसहित सरकारमा सहभागि भएका छौ । हाम्रो पार्टीले दुई मन्त्रालय पाउने हो । तर पार्टीको आन्तरिक कारणले एउटै मन्त्रालयमा मन्त्री पठाउन सकिएको छ ।’ प्रदेश सरकार मन्त्रालयको संख्या थप्ने गृहकार्यमा लागेको श्रोतले बतायो । सचेतक विश्वकर्माले भने,‘ बाँकी रहेका मन्त्रालयहरुमा हामी जादैनौ । त्यस मन्त्रालयमा न कुनै काम छ, न त बजेट नै । मात्रै मन्त्री बन्नको लागि हामी जादैनौ ।

हामीलाई अहिले भएकै कुनै एउटा भाईटल मन्त्रालय चाहिएको छ । नभएमन्त्रालयको संख्या थप गर्नुपर्यो । त्यस्तो नगरिएको खण्डमा वर्तमान अवस्थामा हामी सरकारमा जादैनौ ।’ सरकारमा प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा संचार मन्त्री साहले पनि सरकार विस्तार गरेपनि नेकपा(एस) लाई सरकारमा सहभागि गराउने विषयमा गृहकार्य भईरहेको बताए ।

मन्त्री साहले कुन मन्त्रालयको अधिकार कटौति गर्ने वा कसरी मिलाउने विषयमा टुङ्गो नलागेको बताए । नेकपा(एस)ले यसरी बाँकी रहेका दुई मन्त्रालयमा आउन नमानेपछि मुख्यमन्त्री राउतलाई सरकार विस्तारमा चुनौति थपिएको छ । कुन मन्त्रालयको अधिकार कटौति गर्ने ? र कसरी नयाँ मन्त्रालय खडा गर्ने विषयमा पार्टीका शिर्ष नेताहरुसँग छलफल गरिरहेको जसपाका एक सांसदले बताए ।

उनकाअनुसार मुख्यमन्त्री राउतले समाजिक विकास मन्त्रालयबाट शिक्षा र स्वास्थ्यलाई अलग अलग गरेर एक नयाँ मन्त्रालय विस्तार गर्ने र उद्योग पर्यटन तथा वन मन्त्रालयलाई पनि टुक्राएर उद्योग र पर्यटनलाई अलग गर्ने विषयमा गृहकार्य गरिरहेका छन् । प्रदेश सरकारले प्रदेश सभामा रहेको कुल सांसदको २० प्रतिशत मन्त्रालय संख्या राख्न सक्ने व्यवस्था भएकोले कानुनी जटिलता नरहेको उनले बताए ।