जनकपुरधाम । धनुषाको महेन्द्रनगरमा एक बृद्ध महिलाको जग्गा जबर्जस्ती अतिक्रमण गरिएको घटना सार्वजनिक भएको छ ।

जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ३ सखुवाचौककी कौशिला देवीको जग्गा छिमेकी अच्युत राउतले जबर्जस्ती अतिक्रमण गरेको रामसागर महासेठले आरोप लगाए ।

कौशिलाका श्रीमान् महासेठका अनुसार २८ बर्षअघि १६ धुर १४ कनमा जग्गा खरिद गरेका थिए । जसमा मुखपट्टीको चौडाई २४ फिटमध्ये २१ फिटमा पक्कि घर निर्माण गरी प्रयोग गर्दै आएको र बाँकी तीन फिट जग्गा झ्याल तथा बाटोको रुपमा प्रयोग गर्दै आएको बताए । आफ्नो तीन फिट र सोही जग्गासँग टाँसिएको छिमेकी राउतको चार फिट चौडाइको जग्गा समझदारीमा बाटोकोरुपमा प्रयोग गर्दै आएका थियौंँ, महासेठले भने ।

अहिले राउतले झ्याल ढोकासमेत बन्द हुने गरी र तीन फिट चौडाईको जग्गा समेत अतिक्रमण गरेर पर्खाल लगाउन थालिएको उनले बताए । आफ्नो जग्गा अतिक्रमण गरेर पर्खाल लगाइरहेकोबारे इलाका प्रहरी कार्यालय महेन्द्रनगर, वडा कार्यालय र नगरपालिकामा लिखित निवेदन दिएपनि कुनै पहल नभएको दुखेसो महासेठले सुनाए ।

प्रशासनिक निकायले सुनुवाई नगरेपछि पत्रकार गुहारेका महासेठले सञ्चारकर्मी समक्ष भने अतिक्रमणकारीले उल्टै कुटपिट गर्ने र घरसमेत भत्काइदिने धम्की दिने गरेको छ ।