काठमाडौं । गत भदौं २५ गते पुरानो बानेश्वरस्थित मातृका अस्पतालमा नक्कली बम राखेर फिरौती माग्ने समूहलाई प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको छ ।

फिरौती असूली गर्ने उद्देश्यले बम राखेको अभियोगमा धादिङका २५ वर्षीय आशिष कुँवर, उनका भाइ अभिषेक कुँवर र होटल व्यवसायी रोल्पा घर भएका ४० वर्षीय अम्बरबहादुर रोका पक्राउ परेका हुन् ।

एसएसपी अशोक सिंहका अनुसार उनीहरुलाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले पक्राउ गरिएकाे हाे ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेका आशिष कुँवरले भदौं २४ गते अस्पतालका चिकित्सकलाई बारम्बार फोन गरेर अस्पताल र घरमा बम पड्काई ध्वस्त पारीदिने धम्की दिएका थिए।

अस्पताल र घर परिवार सुरक्षित राख्ने भए ३ करोड रुपैयाँसहित नागढुंगामा आउन भनेको प्रहरीले अडियो रेकर्डसमेत फेला पारेको छ ।

पक्राउ परेका उनीहरूउपर काठमाडौं जिल्ला अदालतबाट अपराधिक लाभ मुद्दामा म्याद थप गरि थप अनुसन्धान भइरहेको परिसरका एसएसपी सिंहले बताए।