मधेसट्प सम्वाददाता

उमेश कुमार साह
राजबिराज , सप्तरी , ३० भदौ ।

बिमा समितिले सप्तरीको खडक नगरपालिकाको कल्याणपुरमा स्थानीय तह तथा सरोकारवालाहरूसँग जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम गरेको छ । बिमा क्षेत्रको नियमनकारी निकायका रूपमा रहेको बिमा समितिले समितिका काम कर्तव्य र अधिकार क्षेत्रको बारेमा जानकारी दिन र बिमा सम्बन्धी चासो, गुनासो र सुझावहरू सङ्कलन गरी काम कारबाहीलाई अझ बढी चुस्त, दुरुस्त एवं पारदर्शी बनाउँदै बीमक र सरोकारवालाहरूलाई छिटोछरितो रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम गरिएको बिमा समितिका निर्देशक दिनेश कुमार लालले जानकारी दिनुभयो ।

बुधबार खडक नगरपालिकाको सभा हलमा आयोजित अन्तरक्रिया कार्यक्रममा कृषि, पशु सहित निर्जीवन बिमा तथा जीवन बिमा सम्बन्धी सरोकारवालाहरूका चासो, गुनासो र सुझाव सङ्कलन गरिएको छ । सहभागीहरूबाट पशु बिमा गरेको १५ दिनपछि मात्रै जोखिम बहन गर्ने प्रावधान किसानहरूको हितमा नरहेको गुनासो आएकोमा यस विषयमा नीतिगत छलफल गर्ने बिमा समितिले जनाएको छ । त्यस्तै, मोटर बिमामा क्षतिपूर्तिको दायरा बढाउनु पर्ने, माछा पालन व्यवसायमा बिमाको स्पष्ट कार्यनीति हुनु पर्ने, कृषि बिमा अन्तर्गत अनुत्पादक बालीको क्षतिपूर्ति नहुने प्रावधान सच्याउनु पर्ने, घर बिमा अनिवार्य गर्नुपर्ने प्रावधान राख्नुपर्ने जस्ता सुझावहरू सरोकारवालाहरूले दिएका छन् ।

जीवन बिमाका सन्दर्भमा समयमै छिटोछरितो प्रक्रियाबाट दाबी भुक्तानी हुने गरी व्यवस्थापन गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन् । बिमा कम्पनीहरूको निर्णयमा चित्त नबुझे बिमा समितिमा जुनसुकै माध्यमबाट पनि उजुरी गर्न सकिने बिमा समितिले जनाएको छ । रू. ५ हजारसम्म प्रिमियम तिर्ने घर बिमा गरेका ग्राहकहरूले आयकर तिर्दा बिमाको आधारमा रु. ५ हजारसम्म छुट र जीवन बिमामा २५ हजारसम्मको आयकरमा छुट सुविधा नेपाल सरकारको बजेटमै उल्लेख भएको समितिले जानकारी दिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका सप्तरीको खडक नगरपालिकाका नगर प्रमुख मो .हेमायु हकले खडक नगरपालिका सहित सप्तरीको दक्षिणी क्षेत्र कृषि र पशुपालनमा अग्रसर रहेकोले सोही बमोजिम कृषकहरूलाई लाभ मिल्ने गरी बिमा कम्पनीहरूले योजना ल्याउनुपर्नेमा जोड दिनुभएको छ । विगतमा बिमा कम्पनीबाट पाउनुपर्ने सुविधा समयमै नपाएका जनगुनासो समेत सुनिने गरेकोले त्यस्ता गतिविधिमा बिमा समितिले निगरानी बढाउनु पर्ने उहाँको भनाइ छ । कार्यक्रममा बिशिस्ट अतिथि बिमा समितिका सहायक सहनिर्देशक पुण बहादुर थापा , रिहशेवर पन्डित तथा आईयमई लाईफ इन्स्योरेन्सको सिइओ कभी फियाल , सानिमा जोनरल इन्स्योरेन्सको सिइओ सुधुन उपाध्य , यलआईसि नेपालको प्रदेश नम्बर १ र २ का रिजन्ल मेनेजर बिपिन कुमार लाल , बिशिस्ट अतिथि खडक नगरपालिकाको उपप्रमुख यासमीन सुल्तान सहित स्थानीय तहका जनप्रतिनिधिहरू तथा कर्मचारीहरू, उद्योग वाणिज्य संघ सप्तरीका पदाधिकारी, विभिन्न बिमा कम्पनीका प्रतिनिधिहरू, बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी , पत्रकार लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।