वीरगन्ज । हुण्डीको कारोबार गरेको आरोपमा एक सुनचादी व्यवसायीसहित २ जना ठूलो रकमसहित पक्राउ परेका छन् ।

वीरगन्जबाट हुण्डीको कारोबार गरेको आरोपमा एक सुनचादी व्यवसायीसहित २ जनालाई ठूलो रकमसहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका ६ बस्ने वर्ष ४५ का कन्हैया प्रसाद सोनार र सोही ज्वेलर्समा काम गर्ने बाराको परवानीपुर गाउँपालिका वडा नं.३ बस्ने बर्ष २० का दिपक कुमार सर्राफ रहेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार, केपी ज्वलेरीभित्र हुण्डीको कारोबार भइरहेको सूचना प्रहरीले पाएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले केपी ज्वेलरीमा छापा मारेर खानतलाशी गर्दा स्रोत नखुलेको ३८ लाख ५१ हजार १ सय रुपैयाँ नगद बरामद भएपछि संचालक कन्हैया र त्यहाँका कामदार दिपकलाई नियन्त्रणमा लिएको छ ।

स्रोत नखुलेको नगद रकमसहित पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए ।