मधेशटप , असोज ८ गते।

जनकपुरधाम । धनुषाको लक्ष्मीनिया गाउँपालिकाले एउटा एसएमएस पठाए वापत २७ हजार भन्दा बढी रुपैयाँ खर्च गरेको पाइएको छ ।  सो गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ मा ९ लाख ८५ हजार ३ सय ६० रुपैयाँमा सफ्टवेयर खरिद गरेको हो ।

खरिद गरिएको सफ्टवेयरमध्ये ग्रुप एसएमएस पठाउनका लागि सो गाउँपालिकाले ४ लाख ९३ हजार ८ सय १० रुपैयाँ खर्चेको छ । यस हिसाबले हेर्दा गाउँपालिकाले एउटा एसएमएस पठाए वापत २७ हजार ४ सय ३४ रुपैयाँ खर्चेको छ । तर, सो सफ्टवेयरबाट १८ जनालाई मात्र एसएमएस पठाइएको पाइएको हो ।

पालिकाले एउटै प्रकृतीको सफ्टवेयर एकै पटक खरीद गर्न सकिनेमा टुक्रा-टुक्रा गरी दुई परामर्श दाताबाट खरिद गरेको अनियमित देखिएको महालेखापरीक्षकको कार्यालयले औल्याएको छ । साथै पालिकाले खरिद गरेको भनिएका जिन्सी, योजना र मोबाइल एप चालू अवस्थामा नरहेको बताइएको छ ।

गाउँपालिकाले खरिद गरेका ग्रुप एसएमएस सफ्टवेयरमा २१ जनाको सम्पर्क नम्बर समावेश भएको र १८ वटा एसएमएस पठाइएको प्रतिवेदनमा उल्लेख छ । सो सफ्टवेयर अहिले बन्द अबस्थामा रहेको उल्लेख छ ।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम ७२ (२) बमोजिम सार्वजनिक निकायले २० लाख रुपैयाँसम्मको लागत अनुमान भएको परामर्श सेवा ऐनको दफा ६ (क) बमोजिम मौजुदा सूचीमा रहेका सम्भव भएसम्म ६ र कम्तिमा ३ वटा परामर्शदाताबाट लिखित रुपमा प्राविधिक र आर्थिक प्रस्ताव माग गरी खरिद गर्न सकिने व्यवस्था छ ।

गाँउपालिकाको जिन्सी व्यवस्थापन, मोबाइल एप्स, ग्रुप एसएमएस तथा योजनाको कामका लागि सफ्टवेयर जडान गर्न तीन वटा फर्मबाट दररेट माग गरी जिन्सी व्यवस्थापन र मोबाइल एप्स बापत जुपिटर टेक्नोलोजिलाई ४ लाख ९१ हजार ५५० र योजना र ग्रुप एसएमएस वापत सिटिजन्स ईन्फोटेक्सलाई ४ लाख ९३ हजार ८१० रुपैयाँ भुक्तानी गरेको हो ।फरकधार बाट