जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम देखि केही दुर धनुषामा एक बालिकाले आत्महत्या गरेकी छिन् ।

धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ खजुरी टोल बस्ने १२ वर्षीया ममता कामतले बिष खाएर आत्महत्या गरेकी हुन् । स्थानीय केही युवकहरुले उनलाई जिस्काएपछि न्याय माग्न सरोकारबाला निकायलाई धाएपनि न्याय नपाउँदा आत्महत्या गरेकी छिन्  ।

गत भदौ २३ गते ट्यूसन पढेर घर फर्किदै गर्दा सोही स्थान बस्ने १९ बर्षिय भिलबा दास, २० बर्षिय कलेश्वर दास र २२ बर्षिय सँजय दासले बालिकामाथि दुरव्यवहार गरेको थियो । तीन जनाले ममतालाई समातेर एउटा कागजको पर्चीमा आफ्नो मो. नम्बर लेखेर दिएका थिए ।

ममतालाई दुरव्यवहार गर्दा उनले आफ्नो परिवारजनलाई बताएकी थिइन् । घटनाको जानकारी पाएलगत्तै उनका परिवारजनले नजिकै रहेको इलाका प्रहरी कार्यालय खजुरीमा उजुरी दर्ता गराउन पुगेको थियो ।

तर, बयान अपुग भएपछि प्रहरीले उजुरी दर्ता गर्न प्रहरीले मानेनन् । गत भदौ २४ गते पिडित परिवारले दिएको उजुरी प्रहरीले पीडित बालिकाको बयानपछि मात्र दर्ता गर्ने भनेपछि दर्ता हुन सकेनन् ।

प्रहरीले स्थानीय तहको न्यायिक समिति मार्फत घटना मिलाउन सल्लाह दिएको मृतक ममताको बुवा सुरेश कामतले बताए । त्यसपछि वडा नम्बर ४ का वडाध्यक्ष हरिशचन्द्र कामतलाई गुहार लगाएको बताइएको हो ।

वडा कार्यालयमा भदौ २५ गते छलफल भएपनि घटनाको निष्कर्ष नलाग्दै दुरव्यवहार गर्ने पक्षका रामउदगार दासले होहल्ला गरेपछि छलफल निष्कर्षमा पुग्न नसकेको वडाध्यक्ष कामतले जानकारी दिए  ।