मधेशटप डेस्क,

जनकपुरधाम ।  प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारी गरेको विरोधमा सत्तासिन जनता समाजवादी पार्टी (जसपा) ले आइतबार जनकपुरमा विरोध प्रदर्शन गरेको छ ।

जनकपुरको रेल्वे स्टेशनमा सयौंको संख्यामा मोटरसाइकलसहित उपस्थित भएका जसपाका नेता/कार्यकर्ताले अख्तियारविरुद्ध आक्रोश पोखे । ‘राजनीतिक कारणले छापा’ मारेको आरोप लगाउँदै जसपाका नेता/कार्यकर्ताले मोटरसाइकल र्‍यालीसहित विरोध प्रदर्शन गरेका हुन् ।
जसपाका युवा नेता जितेन्द्र यादवका अनुसार मोटरसाइकलसहित प्रदर्शनकारी जनकपुरको विभिन्न भागको परिक्रमा गर्दै पिराडी चोकमा विरोधसभामा परिणत भएको छ । सभामा बोल्दै जसपाका नेताहरुले अख्तियारले राजनीतिक प्रतिशोध साध्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको आरोप लगाए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारले छापा मारेको मामिलामा आपत्ति जनाउँदै जसपा केन्द्रीय कार्यालयले विरोधमा उत्रिन आह्वान गरेलगत्तै प्रदेश २ मा अख्तियारविरुद्ध दिनहुँ प्रदर्शन हुन थालेको छ । ‘अख्तियारले राजनीतिक प्रतिशोध लिन कसैको इसारामा मुख्यमन्त्री कार्यालयमा छापामारी गरेको हो,’ जसपाका पुर्व राज्य मन्त्री सरोज सिंह कुश्वाहाले विरोध प्रदर्शनमा भने, ‘प्रदेश सरकारको कार्यालयमा छापामारी गर्नु संघीयताविरोधी कार्य हो । संघीयता नरुचाउनेको इसारामा छापा मारिएको हो । यसको हामी प्रतिवाद गर्छौं ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको थियो । साइकल खरिदमा अनियमितता आशंका गर्दै अख्तियारले मुख्यमन्त्रि तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेर खरिद फायल नियन्त्रणमा लिएको थियो ।
अख्तियारले छापा मारेको विरोधमा जसपाले शनिबार साँझ प्रदेश २ का ८ वटै जिल्लामा मसाल जुलुस निकालेको थियो ।