काठमाडौ । फेसबुक बालबालिका तथा समाजका लागि हानिकारक भएको खुलासा फेसबुक कम्पनीकै एक पूर्वकर्मचारीले गरेकी छन्। फेसबुकका वेबसाइट र एपले बाबालिकालाई हानि पुर्‍याउने, विभाजन बढाउने र लोकतन्त्रलाई कमजोर पार्ने भन्दै फेसबुकमा प्रडक्ट म्यानेजरका रूपमा काम गरेकी ३७ वर्षीया फ्रान्सिस हाउगनले गोप्य कुरा खोलेकी हुन्। बीबीसीका अनुासर उनले यो कुरा अमेरिकी विधायकहरूसँग भनेकी हुन्।

फेसबुकले गर्ने क्षतिरबारे जान्दाजान्दै पनि कम्पनीका वरिष्ठ कर्मचारीहरूले मुनाफालाई प्राथमिकतामा राखेको आरोप पनि उनले लगाएकी छन्। पछिल्लो समय फेसबुकलाई नियमन गर्नुपर्ने माग बढिरहेको छ । यी आरोपहरूलाई खण्डन गर्दै कम्पनीका संस्थापक मार्क जकरवर्गले भने मिडिया कभरेजमा कम्पनीको ‘झूटो तस्बिर’ चित्रित गरेको आरोप लगाएका छन् । कर्मचारीहरूलाई लेखिएको पत्रमा उनले भनेका छन्, ‘यी दाबीहरूको कुनै मतलब छैन । हामी मानिसको सुरक्षा, भलाई र मानसिक स्वास्थ्य जस्ता मुद्दाको बारेमा गहिरोरूपमा ध्यान दिन्छौँ ।’

उनले पत्रमा भनेका छन्, ‘यस्ता कभरेज निकै दुखद छ जसले हाम्रो काम र हाम्रो उद्देश्यलाई गलत तरिकाले प्रस्तुत गरिरहेका छन् ।’ हगनले आइतबार सीबीएस न्युजलाई दिएको अन्तरवार्तामा उनले हालै वाल स्ट्रिट जर्नलसँग फेसबुकको कयौँ आन्तरिक दस्तावेज साझा गरेको बताएकी थिइन् । दस्तावेजको आधारमा जर्नलले आफ्नो मिडिया रिपोर्टमा इन्सटाग्रामले गरेको शोधमा एपले युवतीहरूको मानसिक स्वास्थ्यमा नोक्सान पु(याउन सक्ने पत्ता लगाएको बताएको थियो ।