काठमाडौं, २१ असोज । काठमाडौं उपत्यका बाहिर जाने यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिन खोज्ने ९ जना बिचौलियालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

टिकट काउन्टरमा परिचयपत्र बाहकले मात्र टिकट काट्ने व्यवस्था भएपनि अनाधिकृत व्यक्तिहरूले बिचौलिया बनेर यात्रुसँग मोलमोलाइ गरी तोकिएकोभन्दा बढी भाडा लिँदै गरेको अवस्थामा बिचौलियालाई पक्राउ गरिएको ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । उनीहरूलाई सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले पक्राउ गरेको हो ।

एसएसपी भट्टराईकाअनुसार उनीहरूले उपत्यका बाहिरिने यात्रुहरूसँग बढी भाडा लिई टिकट काट्ने व्यक्तीहरूलाई निगरानी गर्ने, आफै यात्रु बनेर भाडा मोलमोलाइ गर्ने, यात्रुहरूसँग गोप्य रूपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिने गरेका थिए ।

उनीहरूलाई अवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्क र प्रहरी वृत्त कालिमाटीमा बुझाएको महाशाखाले जनाएको छ । चाडपर्वको समयमा उपत्यका बाहिरिने यात्रुहरूको चाप अत्याधिक हुने गर्दछ । यस्तो भिडभाडको मौका छोपी यात्रुहरूलाई ठगी गर्ने, बढी भाडा लिने, डबल टिकट काट्ने समूहलाई नियन्त्रण गर्न र सहज र सुरक्षित यात्राको व्यवस्था गर्न ट्राफिक प्रहरीले विशेष निगरानी एवम् अनुगमन गर्न टोली परिचालन गरेको छ । यात्रु ठगिन नदिन महाशाखाले उपत्यकाका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिरहेको छ ।