जनकपुरधाम । धनुषामा एक जना साधुले आफ्नै शरीरमा जमरा उमारेका छन् । धनुषाको कमला नगरपालिका ८ र ९ को सीमामा पर्ने माता लिलावती थान नजिकैको आश्रमका साधु खाल्डो खनी सुतेका छन् ।

उनले आफ्नै शरीरमाथि माटो थुपारेर जमरा उमारेका हुन् ।सप्तरी सदरमुकाम राजविराज घर भएका ३५ बर्षीय मनोज  देशमा सुख र शान्तिको कामना गर्दै निराहार ब्रत(उपवास ) बसेका छन् र शरीरमा जमरा उमारेका हुन् ।

‘यो देश नेपाल ऋषिमुनीहरुको देश हो । प्रत्येक दशैंमा ऋषिहरुले यस किसिमको तपस्या गर्ने गर्थे,’ मनोजले भने, ‘अहिले बन्द भएको अवस्था छ । अरुले नगरेपनि म देश र सबै जनताको नाममा यो तपस्या गरिरहेको छु ।’

साधु मनोज  भन्छन्, ‘ऋषिमुनीले देश र समाजका लागि सोंच्थे, त्यही भएर त्यो बेला देशको अवस्था ठीक थियो, तर, अहिले देशका लागि कसैले सोच्दैनन् । सबै आफ्नो लागि मात्रै सोंच्ने गर्छन् ।’

उनले लगातार २१ बर्षदेखि दशैंमा यसरी जमरा उमार्दै आएको बताए । भारतको बंगाल र दिल्लीमा पनि यस किसिमको तपस्या गरेको साधु मनोजकुमारले बताए ।

देशका पूर्वजले आफ्नो शरीरमा दुःख र  कष्ट गरी अरुलाई सुख दिँदै आएपनि अहिले त्यो क्रम हराइसकेको भन्दै साधु मनोजकुमारले तपस्याको अर्थ नै आफूलाई दुःख भए पनि  अरुलाई सुख दिनु भएको बताए ।