जनकपुरधाम :  सोमबार रातिदेखि निरन्तर परेको पानीले जनकपुरको नगर क्षेत्र जलमग्न भएको छ । वर्षाको पानी घर तथा पसलमा छिर्दा करोडौं मूल्य बराबरको धनको क्षति भएको छ ।

मंगलबार बिहान झन्डै चार घण्टा मुसलाधारे वर्षा भएपछि नगर क्षेत्रमा एसियन विकास बैंकको सहयोगमा निर्मित ढलबाट पानी बग्न नसक्दा घर घरमा पानी पसेको थियो ।

जनकपुर-२ को गिरिजा सिनेमा हल , किशोरी नगर, भानु चोक,शिव चोक, वडा नम्बर ४ को राराब क्याम्पस जाने बाटो, एसएसपी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतका सरकारी कार्यालय भित्र पानी छिरेको थियो भन्ने शिव चोकमा रहेको एक दर्जन अधिक पसल तथा गोदामहरुमा पानी छिर्दा करोडौँ मूल्य बराबरको लत्ताकपडा,इलेक्ट्रोनिक्स सामान बिग्रेको थियो ।

झन्डै एसियन विकास बैंकको सहयोगमा एकीकृत सहरी विकास आयोजना अन्तर्गत एक अर्बको लगानीमा दुई वर्ष अघि मात्र तयार भएको अन्डरग्राउन्ड ढलले पानी ओसार्न नसक्दा नगर क्षेत्र डुबानमा परेको हो ।

धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जनकपुरसहित जिल्लाका अन्य ग्रामीण क्षेत्रमा पानीको स्तर बढेको सूचना आएपनि धनमालको क्षतिको आधिकारिक जानकारी आउन नसकेको बताएका छन् ।