काठमाडौँ । नेपाली कांग्रेसका १२ जना नेताले न्यायालयमा अहिले उत्पन्न समस्याको दीर्घकालीन समाधान खोज्न पार्टीलाई आग्रह गरेका छन् ।

उनीहरुले न्यायालयको अवस्थामा पेचिलो बन्दै गएको भन्दै पार्टीले न्यायालयको शुद्धिकरणको लडाइँको पक्षमा उभिनुपर्ने बताएका हुन् ।

चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, सरिता प्रसाई, रामकृष्ण यादव र किरण यादवले विज्ञप्तिमार्फत न्यायालयमा उत्पन्न समस्याप्रति पार्टी शीर्ष नेताहरूको ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले ‘नेपाली कांग्रेस मूकदर्शक बन्न या घटनाक्रमलाई न्यायालय भित्रको विषय हो उसैले जानोस् भनेर नजरअन्दाज गर्न मिल्छ ?’ भन्दै पार्टी नेतृत्वसँग प्रश्न गरेका हुन्।

शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसका १२ जना युवा नेताले ‘आफ्नो जन्म कालदेखि नै स्वतन्त्र र निष्पक्ष न्यायालयको पक्षमा संघर्ष गरेको नेपाली कांग्रेसले त झन यस मामिलामा मौन बस्नै नमिल्ने बताएका छन् ।

‘न्यायालयको स्वतन्त्रता र निष्पक्षता लोकतान्त्रिक शासन प्रणालीको पूर्व शर्त र प्रमुख आधार हो । यसको मर्यादालाई बचाइराख्नु हामी सबैको राजनीतिक, सामाजिक र नैतिक दायित्व पनि हो ।’विज्ञेप्तीमा भनिएको छ ।