उमेश कुमार साह ,२० कात्तिक,
बोदे बर्साईन । सप्तरीको बोदे बर्साईनको बैरयाही गाउँमा गस्ती गएका प्रहरीकै मोटरसाइकल चोरी भएको छ । बोदेबर्साइन नगरपालिका–८ बैरयाही टोलबाट शुक्रबार साँझ प्रहरीको मोटरसाइकल चोरी भएको हो ।

इलाका प्रहरी कार्यालय बोदे बर्साइन सप्तरीबाट दुई जना प्रहरी सवार भएर गस्तीमा गएको बा २ प ५६६१ नम्बरको मोटरसाइकल बैरयाहीबाट चोरी भएको हो ।

बैरयाही गाउँमा आयोजित लक्ष्मि पुजाको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रममा सुरक्षा दिन प्रहरी सहायक निरीक्षक (असई) दिलीप सिंहको नेतृत्वमा दुई जना प्रहरी खटिएका थिए । मोटरसाइकल पार्किङ गरी प्रहरी कार्यक्रमस्थलमा घुमिरहँदा मोटरसाइकल चोरी भएको हो ।

जिल्ला प्रहरी कार्यालय, राजविराजका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक उदय द्विवेदीले मोटरसाइकल हराएको पुष्टि गरे । उनले गस्तीमा जाँदा मोटरसाइकल हराएको र खोजबिन भइरहेको बताए ।मोटरसाइकल हराएको विषयमा खोजी तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी सप्तरीका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक उदय द्विवेदीले जानकारी दिए।
.