सल्यान । सल्यानको कपुरकोटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

मृत्यु हुनेमा १० जना पुरुष र २ जना महिला रहेको जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले जानकारी दिएका हुन् ।

६ जनाको घटनास्थलमा र ६ जनाको अस्पतालमा गरी १२ जनाको मृत्यु भएको हो । मृत्यु भएकाहरुको सनाखत नभएको उनले जानकारी दिए ।

सल्यान सदरमुकाम खलंगाबाट दाङको तुल्सीपुरतर्फ गइरहेको ना १ ख १५५२ नम्बरको बस आइतबार विहान ११ बजेतिर कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा दुर्घटना भएको थियो ।

दुर्घटनामा कम्तीमा १८ जना घाइते भएका प्रहरीले बताएको छ । घाइतेमध्ये गम्भीर अवस्थाका ७ जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अरु घाइतेको श्रीनगर र खलंगाका विभिन्न अस्पतालमा उपचार भइरहेको डीएसपी थापाले जानकारी दिए ।

प्रहरीले तीब्र गतिका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ । बस सडकबाट २०० मिटर तल खसेको थियो । तिहार मनाएर शहरतर्फ फर्किँदै गरेकाहरु दुर्घटनामा परेका छन् ।