काठमाडौँ — उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले भारत र बंगलादेश लगायतका छिमेकी देशहरुमा विद्युत् बिक्रीको बाटो खुलेको बताएकी छन् ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री भुसालले भारतसँग विद्युत् व्यापार सुरु भइसकेको र बंगलादेशसँग सकारात्मक ढंगले कुरा अघि बढसरहेको बताएकी हुन् ।

मन्त्री भुसालले भारतमा विद्युत् व्यापारको सुरुवात भइसकेको बताउँदै यस प्रकारको व्यापार दक्षिण एसियाकै पहिलो भएको बताइन् । मन्त्री भुसालले जलविद्युत् क्रमश: बढ्दै गएको आन्तरिक खपत बढाउनु पर्ने बताउँदै विद्युत् व्यापारले देशकै व्यापार घाटाको अवस्थामा सुधार गर्ने बताइन् ।

 

मन्त्री भुसालले भनिन्, ‘उर्जा व्यापार पहिलेदेखि नै सुरु भएको हो । तर, हामीले बढी हुँदा पनि सप्लाई गर्न सकेका थिएनौं । अहिले भारतको सम्बन्धित निकायले हामीसँग विद्युत् खरिद गर्ने सहमति गरेर सप्लाई सुरु भइसकेको छ । त्यसैले विद्युत् व्यापारको सुरुवात भएको भनेर यसलाई मान्न सकिन्छ ।’

यस प्रकारको व्यापार दक्षिण एसियाकै पहिलो भएको उनको दाबी छ । उनले भनिन्, ‘हामीकहाँ क्रमश: जलविद्युत् उत्पादन हुँदै गइरहेको छ ।आन्तरिक खपत पनि बढाउने आवश्यकता छ । त्यसको पनि अध्ययन र तयारीमा छौं । तर, हामीसँग बढी नै इनर्जी हुने कुराको निर्यात गर्न सक्ने, पाउने नयाँ स्थितिमा पुगेका छौं । यसले विद्युत्‌को व्यापार मात्रै हुन्न । हाम्रो व्यापारको असन्तुलन छ, व्यापार घाटा बढी छ । त्यसलाई क्रमश: न्यूनिकरण गर्ने भूमिका खेल्छ । भर्खर हामीले भारतमा विद्युत् व्यापार सुरु गरेका छौं । बंगलादेश भारत भएर जाने हो । त्यसैले हामीलाई त्रिपक्षीय सम्झौता हुनुपर्छ । त्यो सम्पन्न हुन पनि सकारात्मक वातावरण बन्दै गएको छ ।’

मन्त्री भुसालले भान्सामा प्रयोग हुने एलपी ग्यास लगायतका उर्जाहरुलाई विद्युत्‌ले विस्थापित गर्न सके देशको व्यापार घाटा कम हुने बताइन् । उनले नेपाल कृषिप्रधान देश भएकोले सतह सिंचाइ, ग्राउण्ड वाटर, वा लिफ्ट सिंचाइ गरेर खेतीयोग्य जमीनमा सिंचाइ पुर्‍याउने बताइन् । मन्त्री भुसालले उद्योगहरुलाई अब चाहिए जति विद्युत् दिन सक्ने बताउँदै ऊर्जा खपत गर्ने उद्योगलाई नयाँ सोचका साथ अघि आउन पनि आग्रह गरिन् ।

उनले आन्तरिक खपतको लागि विद्युत् महशुल घटाएको पनि बताइन् । भनिन्, ‘पहिला आन्तरिक खपतको निम्ति सहज होस् भनेर विद्युत्‌को महशुल नै घटायौं । घर भान्सामा प्रयोग हुने उर्जामा अब जलविद्युत् मात्रै हुन सक्छ । एलपी ग्यास लगायतका ऊर्जा भन्दा यो सस्तो छ । त्यसैले होल डोमेस्टिक कन्जम्प्सनमा खास गरेर एलपी ग्यास प्रयोग भएको छ, त्यसलाई विस्थापित गर्नका निम्ति यसले मद्दत गर्नेछ ।’

नेपालमा सञ्चालनमा रहेका यातयातका साधनहरुलाई विद्युतीकरण गर्ने कुरा अर्को महत्त्वपूर्ण कुरा भएको उनले बताइन् ।भनिन्, ‘अहिले विद्युतीय यातयातका साधनमा लागेको भन्सार दरलाई पनि न्यूनिकरण गरेर अब खरिद गर्ने गाडीमा विद्युतीय गाडीलाई प्रोत्साहन दिने र तिनीहरुका निम्ति आवश्यक पर्ने चार्जिङ लगायतका भौतिक संरचना, छिटोभन्दा छिटो सरकारले बनाउने कुरामा विद्युत्‌को एउटा ठूलो खपत यातायातमा हुनेछ, उद्योगमा हुनेछ, कृषि र सिंचाइमा हुनेछ । आन्तरिक खपतबाट अघि बढ्नेछ । यसले अन्तिममा पेट्रोलियम पदार्थ, एलपी ग्यास लगायतलाई विस्थापित गर्न सक्दा व्यापार घाटालाई सकारात्मक ढंगले सन्तुलनमा ल्याउने माध्यम बन्नेछ ।’

मन्त्री भुसालले अब सवारी साधन खरिद गर्दा विद्युतीय सवारीसाधनलाई प्रोत्साहन दिइने बताउँदै पेट्रोलियम पदार्थ र एलपी ग्यासलाई विस्थापित गर्न सके नेपालको व्यापार घाटामा सुधार हुने बताइन् ।