मधेशटप।

जनकपुरधाम ।  गृहमन्त्री बालकृष्ण खाँणले मैथिली भाषा, पहिरन, संस्कृति र भोजनको ऐतिहासिक पहिचान रहेकाले यो मैथिली भाषीका लागि मात्र नभई राष्ट्रकै लागि एउटा गहना रहेको बताएका छन् ।

मैथिली विकास कोषले मङ्गलबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खाँणले यस्तो बताएका हुन् ।

विगतमा बहुभाषिक विकासका लागि विभिन्न निर्णयहरू सम्बोधन गराएकाले मैथिली भाषाको विकासका लागि पनि ठोस कदम चाल्ने उनले बताए ।

देउवा प्रधानमन्त्री भएकै बेलामा सबै वर्गको राष्ट्रिय राजनीतिको मूलधारमा पहुँच र अधिकार सुनिश्चितताका लागि आदिवासी/जनजाति, महिला र दलितलगायतका विभिन्न आयोग गठन र भाषिक विविधतालाई पनि सम्बोधन गर्ने निर्णय गरेको बताउँदै मैथिली उनले भाषाको विकासका लागि आयोग गठन गर्न पहल गर्ने बताए ।

कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले यस क्षेत्रबाट व्यवसायीहरू पलायन हुँदै गएको भन्दै यस क्षेत्रका उद्योगी, व्यवसायीलाई अप्ठ्यारो पार्ने काम नगर्न र सुरक्षा प्रदान गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

त्यस्तै जनकपुरधाम उद्योग वाणिज्य सङ्घले प्रहरी प्रशासनले पारिबाट मालसामान ल्याएको भनी झुठा मुद्दाहरू लगाएर सामान नियन्त्रणमा लिई अनावश्यक दुःख दिई व्यावसायिक स्वतन्त्रता हनन गरिरहेकाले त्यसलाई रोक्न ज्ञापनपत्रमार्फत गृहमन्त्रीसँग माग गरेपछि गृहमन्त्री खाँणले व्यावसायिक स्वतन्त्रता हनन नगर्न प्रदेश २ का प्रहरी प्रमुख र जिल्लास्थित प्रहरी निकायलाई निर्देशन दिएका छन् ।