जनकपुरधाम : धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा नेपाली काँग्रेसको वडा अधिवेशनमा प्रदेश २ का भौतिक पुर्वाधार विकासमन्त्री रामसरोज यादवले हस्तक्षेप गरेपछि आफ्नै कार्यकर्ताबाट कुटिएका छन् ।

वडा नम्बर ५ र ६ मा प्रहरीको सहयोगमा एकलौटी माइन्युट गरेर मन्त्री यादवले वडाधिवेशन गर्न खोजेपछि विवाद सिर्जना भएको हो ।

मन्त्री यादवले पावरको आडमा अलोकतान्त्रिक र तानाशाही विधिबाट महाधिवेशन गराउन खोजेपछि आफुहरुले अधिवेशन रोक्न खोजेको वडा सभापतिका उम्मेदवार ज्ञानेन्द्र यादवले बताए ।

‘हाम्रा केही कार्यकर्तालाई पार्टीबाट हटाइएपछि हामीले तीन दिनदेखि अधिवेशन रोकेका छौँ । तर मन्त्रीजीले मेरै गाउँ छ जे चाहन्छु त्यहीँ हुन्छ भनेर बन्दुकको नालको भरमा आफ्नो खल्तीका मान्छेलाई सभापति बनाउन खोजेपछि हामीले कुटेका हौँ,’ उनले भने ।

 

यद्दपी मन्त्री यादवमाथि कुटपिट भएको कुरा सत्य नरहेको प्रहरी चौकी बहेडाबेलाले जनाएको छ । काँग्रेसका स्थानीय कार्यकर्ताले मन्त्री यादवविरुद्ध अहिले नारावाजी गरिरहेका छन् ।

‘राम सरोज चोर गाउँ छोड, राम सरोज मुर्दाबाद, बिमलेन्द्र निधि जिन्दाबाद’ लगायतका नारा लगाउँदैछन् ।